विराटनगर, २८ असार । विराटनगर–४ स्थित नेशनल इन्स्टिच्युट अफ टेक्नोलोजी (एनआईटी) कलेजले शैक्षिक सत्र २०८३/८४ मा भर्ना भएका नवप्रवेशी विद्यार्थीका लागि स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।
निजी पार्टी प्यालेसमा आयोजित कार्यक्रममा जनरल मेडिसिन (एचए), मेडिकल ल्याब टेक्निसियन (सीएमएलटी) र डिप्लोमा इन फार्मेसी संकायका नयाँ विद्यार्थीलाई स्वागत गरिएको कलेजले जनाएको छ। यस शैक्षिक सत्रमा एचएमा ४०, सीएमएलटीमा ३० र डिप्लोमा इन फार्मेसीमा ४० गरी कुल ११० विद्यार्थी भर्ना भएका छन्।
कार्यक्रममा कलेजका प्रिन्सिपल जीतेन्द्र झाले विद्यार्थीलाई अनुशासन, इमानदारी र लगनशीलताका साथ अध्ययन गर्न आग्रह गर्दै सपथ गराउनुभयो। उहाँले २०५२ सालदेखि सञ्चालनमा रहेको कलेजले गुणस्तरीय प्राविधिक शिक्षा प्रदान गर्दै आएको उल्लेख गर्नुभयो। साथै, विद्यार्थीलाई व्यवहारिक ज्ञान र सीप विकासका लागि कोशी अस्पताल, नोबेल मेडिकल कलेज तथा रामलाल गोल्छा आँखा अस्पताललगायत स्वास्थ्य संस्थामा प्रयोगात्मक प्रशिक्षणको अवसर उपलब्ध गराइने जानकारी दिनुभयो। प्राध्यापक राजन दत्तले शिक्षकको प्रयाससँगै विद्यार्थीको निरन्तर मेहनत र आत्मअनुशासन सफलताको मुख्य आधार हुने बताउनुभयो।सीटीइभीटीका कोशी प्रदेश प्रमुख शिशिर सुब्बाले प्राविधिक शिक्षा सीपमा आधारित भएकाले मेहनत र दक्षतामार्फत भविष्य निर्माण गर्न विद्यार्थीलाई आग्रह गर्नुभयो।
शैलजा आचार्य पोलिटेक्निकका प्रिन्सिपल सन्तबहादुर अधिकारीले प्राविधिक शिक्षाले स्वरोजगार र सेवा दुवै क्षेत्रमा अवसर सिर्जना गर्ने भएकाले यस क्षेत्रमा थप लगानी आवश्यक रहेको धारणा राख्नुभयो।
जनस्वास्थ्य प्रयोगशाला कोशी प्रदेशका निर्देशक प्रकाशराज कार्कीले दक्ष स्वास्थ्य जनशक्ति उत्पादनमा एनआईटीको योगदान प्रशंसनीय रहेको बताउनुभयो।
मानवअधिकारकर्मी तथा बुद्धिजीवी दिनेश श्रेष्ठले पनि नवप्रवेशी विद्यार्थीलाई शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रमकै अवसरमा चिकित्सा क्षेत्रमा चार दशक भन्दा बढी समय योगदान पुर्याउनुभएका वरिष्ठ रेडियोलोजिष्ट डा. यज्ञराज पाठकलाई सम्मानपत्रसहित विशेष सम्मान गरिएको थियो। उहाँलाई एनआईटीका संस्थापक अध्यक्ष भगवान झाले सम्मान प्रदान गर्नुभएको थियो।
