विराटनगर, ३१ असार । विराटनगरस्थित गोल्डेन अस्पताल प्रालिले आफ्नो अस्पतालमा चरम श्रम शोषण भएको भन्दै हालै विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। अस्पतालले विज्ञप्ति जारी गर्दै प्रकाशित समाचारलाई भ्रामक, एकपक्षीय र तथ्यहीन भएको दाबी गर्दै त्यसको खण्डन गरेको हो।
अस्पतालका प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव मो. जियाउल हकद्वारा जारी विज्ञप्तिमा अस्पतालका कर्मचारीको तलब, सेवा–सुविधा तथा श्रमसम्बन्धी विषयलाई लिएर प्रकाशित समाचारप्रति आपत्ति जनाइएको छ।
विज्ञप्तिअनुसार श्रम तथा रोजगार कार्यालयले माग गरेका सम्पूर्ण कागजातहरू तोकिएको समयसीमाभन्दा करिब १५ दिनअघि नै उपलब्ध गराइसकिएको र कार्यालयबाट दिइएका सम्पूर्ण निर्देशनको अस्पतालले पूर्ण रूपमा पालना तथा कार्यान्वयन गरिरहेको जनाएको छ।
साथै, श्रम कार्यालयबाट कुनै आधिकारिक निष्कर्ष वा पुष्टि नभइसकेको अवस्थामा विभिन्न सञ्चारमाध्यममा तथ्यहीन तथा एकपक्षीय समाचार प्रकाशित भएको भन्दै अस्पतालले असन्तुष्टि व्यक्त गरेको छ।
सुरक्षा सेवासम्बन्धी विषयमा अस्पतालले सुरक्षा सेवा प्रदान गर्ने ठेक्का (कन्ट्र्याक्ट) कम्पनीसँग विधिवत् सम्झौता गरिएको उल्लेख गरेको छ। सम्झौताअनुसार सुरक्षा कर्मचारीको तलब, बिदा, सेवा–सुविधा तथा अन्य श्रमसम्बन्धी दायित्व सम्बन्धित सुरक्षा सेवा कम्पनीकै जिम्मेवारी रहेको र अस्पतालले सम्झौताअनुसारको भुक्तानी नियमित रूपमा गर्दै आएको विज्ञप्तिमा उल्लेख छ।
