१२ साउन २०८३, मंगलबार

भारतमा शिक्षामन्त्रीविरुद्ध आन्दोलन जारी

Logo
आजको अपडेट मंगलबार, साउन ०५, २०८३
नयाँदिल्ली, ५ साउन (रासस/एएफपी) :

भारतमा परीक्षा प्रणाली सुधार र शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै उत्रिएको ‘कक्रोच जनता पार्टी’ (सीजेपी) आन्दोलनले सरकार माग पूरा नभएसम्म आन्दोलन नरोकिने घोषणा गरेको छ । नयाँदिल्लीमा सोमबार भएको विशाल प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा कम्तीमा १७८ जना घाइते भएपछि आन्दोलन थप चर्किएको हो ।

सीजेपीले सामाजिक सञ्जालमार्फत आन्दोलनलाई निरन्तर अघि बढाइने जनाएको छ । आन्दोलनका प्रमुख आशुतोष रङ्काले शिक्षामन्त्री प्रधानलाई पदबाट हटाउनुपर्ने माग दोहो¥याउँदै सरकार मौन बसेसम्म आन्दोलन जारी रहने बताउनुभयो ।

मङ्गलबार पनि सयौँ प्रदर्शनकारी राजधानीको जन्तर–मन्तर क्षेत्रमा धर्नामा बसेका छन् । उनीहरूले शिक्षामन्त्रीको राजीनामासँगै परीक्षा प्रणालीमा व्यापक सुधार गर्नुपर्ने माग राखिरहेका छन् । सोमबार हजारौँ प्रदर्शनकारी संसद्तर्फ मार्च गर्न खोजेपछि प्रहरीले उनीहरूलाई रोक्न अश्रुग्यास प्रहार गर्नुका साथै लाठीचार्ज गरेको थियो ।

दिल्ली प्रहरीले प्रदर्शनकारी र सुरक्षाकर्मीबीच भएको झडपमा कम्तीमा १७८ जना घाइते भएको जनाएको छ । तीमध्ये वरिष्ठ अधिकारीहरूसहित ११८ जना प्रहरी कर्मचारी पनि छन् । प्रहरीले प्रदर्शनकारीको भीडलाई ‘अनियन्त्रित, आक्रामक र हिंसात्मक’ भएको आरोप लगाएको छ ।

साथै झडपका क्रममा करिब ६० जना प्रदर्शनकारी पनि घाइते भएको जनाएको छ । यद्यपि आन्दोलनका आयोजकहरूले प्रहरीको बल प्रयोगको कडा आलोचना गरेका छन् । आशुतोष रङ्काले वास्तविक मुद्दा उठाउन आएका विद्यार्थीमाथि प्रहरीले क्रूरतापूर्वक दमन गरेको आरोप लगाउँदै यसलाई भारतीय लोकतन्त्रका लागि लज्जास्पद घटना भन्नुभयो । उहाँले सोमबार वरिष्ठ मन्त्री जे.पी. नड्डासँग भेटवार्ता गरे पनि सरकारले आन्दोलनकारीका मागबारे कुनै ठोस प्रतिक्रिया नदिएको बताउनुभयो ।

मे महिनामा सुरु भएको सीजेपी आन्दोलनले छोटो अवधिमै सामाजिक सञ्जालमा लाखौँ समर्थक जुटाएको छ । विश्लेषकहरूले यसलाई प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०२४ मा तेस्रो कार्यकाल सुरु गरेयताको प्रमुख जनदबाबमध्ये एक मानेका छन् । भारतमा पछिल्ला महिनाहरूमा सार्वजनिक परीक्षा प्रणालीसँग सम्बन्धित घोटालाहरू सार्वजनिक भएपछि विद्यार्थीको असन्तुष्टि बढ्दै गएको छ ।

गत महिना करिब २२ लाख मेडिकल विद्यार्थीले सुरक्षा व्यवस्थाबीच पुनः परीक्षा दिएका थिए । त्यसअघि करिब २० लाख माध्यमिक तहका विद्यार्थीको परीक्षाको अनलाइन मूल्याङ्कन प्रणालीसँग सम्बन्धित अर्को विवाद पनि सार्वजनिक भएको थियो । तीव्र आर्थिक वृद्धिका बाबजुद स्थायी र राम्रो रोजगारीको अभाव तथा बारम्बार देखिएका परीक्षा अनियमितताले युवामा सरकारप्रतिको असन्तुष्टि बढाउँदै लगेको विश्लेषण गरिएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300