१२ साउन, भद्रपुर (झापा)। मेचीनगर नगरपालिका-६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा एक शिक्षिकाको शव फेला परेको छ ।
सर्लाही लालबन्दी-२ की २९ वर्षीया कविताकुमारी ढुङ्गाना मृतावस्थामा भेटिएको प्रहरीले जनाएको छ । उनी आफ्ना श्रीमान् ३० वर्षीय रतन गुप्तासँग विद्यालय परिसरभित्र रहेको आवासीय कोठामा बस्दै आएकी थिइन् । गुप्ता पर्साको वीरगञ्ज-१६ निवासी हुन् र श्रीमान्/श्रीमती दुवै जना गत वैशाखदेखि सोही विद्यालयमा अध्यापन गरिरहेका थिए ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक रञ्जन अवाले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।
विद्यालयका प्रधानाध्यापक दुर्गाबहादुर लुइँटेलका अनुसार यही साउन ५ गतेदेखि विद्यालय बिदामा रहेको र सोमबार विद्यालय सञ्चालनका क्रममा दुवै शिक्षक सम्पर्कमा नरहेको पाइएको थियो । उनीहरू बस्ने कोठामा बाहिरबाट ताला लागेको थियो भने फोन सम्पर्क हुन सकिरहेको थिएन ।
