१२ साउन २०८३, मंगलबार

छाडा पशु चौपायालाई ‘रिफ्लेक्टिङ बेल्ट’ लगाइँदै

Logo
आजको अपडेट मंगलबार, साउन १२, २०८३

महेन्द्रनगर, १२ साउन ।  छाडा गाईबस्तुका कारण हुने सवारी दुर्घटना न्यूनीकरणका गर्न त्यस्ता चौपायालाई ‘रिफ्लेक्टिङ बेल्ट’ लगाउने अभियान सुरु गरिएको छ । युवा समूहको सक्रियतामा गड्डाचौकीस्थित पूर्व–पश्चिम राजमार्गमा रहेका छाडा पशु चौपायालाई ‘रिफ्लेक्टिङ बेल्ट’ लगाउन सुरु गरिएको स्थानीय हेमराज भट्टले जानकारी दिनुभयो ।

‘रिफ्लेक्टिङ बेल्ट’ले राति सवारी चालकलाई टाढैबाट छाडा पशु चौपाया देख्न सजिलो हुने भएकाले सडक दुर्घटना कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । सोही क्रममा सोमबार मात्रै त्यस क्षेत्रमा १५० भन्दा बढी पशुचौपायामा ‘रिफ्लेक्टिङ बेल्ट’ जडान गरिएको छ ।

“रातिको समयमा छाडा पशुचौपायाको राजमार्गमा हुने आवतजावत नदेखेर सवारी दुर्घटना बढेपछि त्यसलाई न्यूनिकरण गर्ने उद्देश्यले यो अभियान थालेका हौँ ।” स्थानीय युवा भट्टले भन्नुभयो, “स्वतस्फूर्त रुपमा २०÷२२ जना युवा ‘रिफ्लेक्टिङ बेल्ट’ जडान गर्ने अभियानमा जुटेका छौँ ।” स्थानीय युवाको उक्त कार्यलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र जिल्ला ट्राफिक कार्यालयले समेत साथ दिएको छ ।

उहाँले भन्नुभयो, “यहाँ छाडा पशु चौपाया प्रमुख समस्या भए पनि स्थानीय सरकारले यसको व्यवस्थापन गर्न सकेका छैनन् ।” कञ्चनपुर जिल्लामा मात्रै हजारभन्दा बढी छाडा पशु चौपाय रहेको आकलन गरिएको छ । शुक्लाफाँटा नगरपालिकाले भने पछिल्लो समय छाडा पशु चौपाया व्यवस्थापनमा जुटेको छ ।

अन्य पालिकाले पनि छाडा पशु व्यवस्थापनमा पहल गरे पनि सार्थकता पाउन सकेको देखिन्न । समाजसेवी भट्टले भन्नुभयो, “गौमाताको सुरक्षा र सडक दुर्घटना न्यूनीकरणमा आफ्नो क्षेत्रबाट योगदान दिन सबैलाई आग्रह गर्दछु ।”

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300