

विराटनगर । ग्रामीण क्षेत्रका बालबालिकाहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले भोक्राहा नर्सिङ गाउँपालिका वडा नं. २ मा एभरेस्ट हाई स्कूलको स्थापना गरिएको छ । विद्यालयका संस्थापक तथा प्रिन्सिपल विकास मेहताद्वारा सञ्चालित यस विद्यालयले सुरुवाती चरणमा कक्षा ५ सम्मको पठनपाठन सुरु गरेको छ ।
विद्यालयका प्रिन्सिपल मेहताले ग्रामीण क्षेत्रका बालबालिकाहरूको शैक्षिक भविष्यलाई मध्यनजर गर्दै यो विद्यालय स्थापना गरिएको बताए । “हाम्रो मुख्य लक्ष्य भनेको गाउँमै रहेका बालबालिकाहरूलाई कम शुल्कमा उच्चस्तरीय शिक्षा प्रदान गर्नु हो,” मेहताले भने । उनका अनुसार यस अघि गुणस्तरीय शिक्षाका लागि विद्यार्थीहरूले महँगो शुल्क तिरेर सहर जानुपर्ने बाध्यता थियो, जुन अब हट्ने विश्वास व्यक्त गरे ।
सरस्वती पूजाको शुभ अवसरमा आयोजित विशेष समारोहमा विद्यालयको औपचारिक सुरुवात गरिएको छ । कार्यक्रममा नवप्रवेशी विद्यार्थीहरूको अक्षरारम्भ समेत गराइयो । समारोहमा भोक्राहा नर्सिङ गाउँपालिकाका जनप्रतिनिधिहरू, स्थानीय शिक्षक-शिक्षिकाहरू, समाजसेवीहरू, बालबालिका तथा अभिभावकहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई विशेष बनाउन विविध सांगीतिक प्रस्तुतिहरू समेत समावेश गरिएको थियो । विद्यालय व्यवस्थापनले आगामी शैक्षिक सत्रदेखि थप कक्षाहरू सञ्चालन गर्ने योजना रहेको जनाएको छ । स्थानीय अभिभावकहरूले गाउँमै गुणस्तरीय शिक्षाको अवसर पाउने भएकोमा खुसी व्यक्त गरेका छन् ।
यस विद्यालयको स्थापनासँगै भोक्राहा नर्सिङ क्षेत्रमा शैक्षिक विकासको नयाँ युगको सुरुवात भएको स्थानीयहरूले बताएका छन् । विद्यालयले आधुनिक शिक्षण विधि र पूर्वाधार विकासमा विशेष ध्यान दिने प्रतिबद्धता जनाएको छ । यसले ग्रामीण क्षेत्रका बालबालिकाहरूको शैक्षिक स्तर उकास्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।