२१ जेठ २०८३, बिहिबार

आदर्श माविको ९६ औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

Logo
आजको अपडेट बुधबार, माघ २३, २०८१

विराटनगर । विराटनगरको ऐतिहासिक एवं शैक्षिक दृष्टिले महत्वपूर्ण आदर्श माविले आफ्नो ९६ औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ। मंगलबार आयोजित विशेष समारोहमा विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा पछिल्ला वर्षहरूमा हासिल गरिएको प्रगतिप्रति वक्ताहरूले प्रशंसा व्यक्त गरेका थिए।

समारोहका प्रमुख अतिथि तथा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले व्यावसायिक र व्यवहारिक शिक्षामा विशेष ध्यान दिन विद्यालयलाई सुझाव दिएका थिए। विद्यालयको स्थापनाकर्ता कृष्णप्रसाद कोइरालाका नाति समेत रहेका डा. कोइरालाले शैक्षिक नवाचार र गुणस्तरीय शिक्षामा विद्यालयले थप योगदान दिनुपर्ने बताए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकास पराजुलीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रधानाध्यापक सन्तोष पोखरेलले विद्यालयको प्रगति विवरण प्रस्तुत गर्दै हाल विद्यालयमा ३ हजार ६ सय विद्यार्थी अध्ययनरत रहेको जानकारी गराएका थिए। साथै, विद्यालयले प्राविधिक धारलाई पनि प्राथमिकता दिँदै आएको उनले बताए।

कार्यक्रमका दौरान विद्यालयका विभिन्न गतिविधिमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थी तथा शिक्षकहरूलाई सम्मान गरिएको थियो। यस अवसरमा विद्यार्थीहरूले आकर्षक मार्चपास र नृत्य प्रदर्शन गरेका थिए भने रक्तदान कार्यक्रम समेत सम्पन्न भएको थियो।

वि.सं. १९८६ सालमा कृष्णप्रसाद कोइरालाको सक्रियतामा स्थापना भएको आदर्श मावि आगामी चार वर्षमा शताब्दी पूरा गर्न गइरहेको छ। अधिकांश सामुदायिक विद्यालयहरूको अवस्था चुनौतीपूर्ण बन्दै गइरहेको अवस्थामा आदर्श माविले हासिल गरेको उपलब्धि प्रशंसनीय रहेको कार्यक्रमका वक्ताहरूले बताएका थिए।

 

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300