२१ जेठ २०८३, बिहिबार

देवानगञ्जमा ६ जना भूमिहीनलाई लालपुर्जा

Logo
डुमरलाल मेहता बिहिबार, चैत्र २७, २०८१

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिकाले “खुसी किसान, देवानगञ्जको पहिचान” भन्ने नाराका साथ छ जना भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासीहरूलाई जग्गाधनी प्रमाण–पत्र (लाल पुर्जा) वितरण गरेको छ।

यो वितरण नेपालमा दोस्रो तथा कोशी प्रदेशमा पहिलो स्थानीय तहको रूपमा देवानगञ्ज गाउँपालिकाले वडा नं. ३ का भूमिहीन सुकुम्वासीहरूलाई प्रदान गरेको हो। राष्ट्रिय भूमि समस्या समाधान आयोग, सुनसरीको समन्वय र देवानगञ्ज गाउँपालिका गाउँ कार्यपालिकाको आयोजनामा आयोजित कार्यक्रममा लाल पुर्जा वितरण गरिएको हो।

देवानगञ्ज गाउँपालिकाका अध्यक्ष बेचनप्रसाद मेहताले भूमिहीन समुदायलाई स्थायी बसोबासको सुनिश्चितता गर्दै सम्मानपूर्वक जीवनयापन गर्न सघाउने उद्देश्यले जग्गा वितरण गरिएको बताउनुभयो। उहाँले सामाजिक न्याय र समावेशीतालाई व्यवहारमा उतार्ने गरी गाउँपालिकाले काम गरिरहेको उल्लेख गर्दै भूमिविहीनलाई जग्गा अधिकार दिनु नै विकासको मूल आधार भएको बताउनुभयो।

कार्यक्रमका प्रमुख अतिथि भूमि समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजालले सरकार र स्थानीय तहको सहकार्यबाट देशभरका भूमिविहीन नागरिकलाई न्याय सुनिश्चित गर्ने आयोगको प्रतिबद्धता दोहोर्‍याउनुभयो। उहाँले कोशी प्रदेशमा पहिलोपटक लाल पुर्जा वितरण गरेकोमा देवानगञ्ज गाउँपालिकालाई बधाई दिनुभयो।

विशिष्ट अतिथि आयोगका विज्ञ सदस्य डा. जगत बस्नेतले भूमिविहीनलाई जग्गा वितरण गर्नु सामाजिक रूपान्तरणको नयाँ अध्याय भएको बताउनुभयो। कार्यक्रममा आयोगका सदस्य अनिलकृष्ण प्रसाई, देवानगञ्ज गाउँपालिकाकी उपाध्यक्ष कुमारी बिभा यादव, प्रमुख प्रशासकीय अधिकृत सुधिर साफी, वडाध्यक्षहरू, राजनीतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी, कर्मचारी तथा स्थानीयवासीको उपस्थिति रहेको थियो।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300