

विराटनगर–राम पोखरेल, विराटनगर महानगरपालिका ८ का वडाध्यक्ष हुन् । ०७९ को स्थानीय तह निर्वाचनमा फराकिलो मतान्तरले नेपाली कांग्रेसका उम्मेदवारलाई पराजित गरि वडाध्यक्षमा निर्वाचित भए ।
नेपाली कांग्रेस प्रभावित क्षेत्रमा एमालेका उम्मेदवार पोखरेल सहजै निर्वाचित भए। उनी निर्वाचित हुनुको पछाडि उनको काम प्रतिको लगनशिलता र नेतृत्व गर्ने शैलीले वडावासीलाई प्रभावित बनाएको थियो। वडाध्यक्ष हुनु अघि उनी नेकपा एमाले विराटनगर ८ वडा कमिटीको अध्यक्ष थिए। विराटनगरका १९ वटा वडा मध्ये उनी अध्यक्ष भएको समयमा सवै भन्दा बढी क्रियाशिल वडा भनेकै विराटनगर ८ थियो। पार्टीका नियमित गतिविधि विराटनगर ८ मै हुन्थे ।
पार्टीका गतिविधिसँगै विकास निर्माणको नेतृत्व पनि पोखरेलले नै गर्ने गरेका थिए। महानगर, वडामा नेपाली कांग्रेसको नेतृत्व भएपनि विकास निर्माणको पहल लिने, प्रदेश सरकारका मन्त्रालयमा पुगेर विकास निर्माणका योजना हाल्नका लागि पहल गर्ने उनै पुग्ने गरेका थिए। पार्टीको वडा कमिटी अध्यक्ष हुनु अघि पूर्वसामाजिक विकासमन्त्री जीवन घिमिरेका स्वकीय सचिवको जिम्मेवारीमा उनी थिए ।
मन्त्री घिमिरेको सचिवालयमा बस्दा कोभिडको समयमा गरेको कामको आत्मबलले सामाजिक विकासलाई जोड दिएको उनले बताए। उनले भने, ‘कोभिडकालमा जनप्रतिनिधि भन्दा पनि स्थानीयवासीले मलाई खोजे।’ कोभिडकालमा गरेको कामले सामाजिक कार्यप्रति झन चासो बढाएको उनले बताए ।
मन्त्रीको सचिवालय पछि वडा पार्टी कमिटीको गतिविधि र कुशल नेतृत्व गर्ने शैलीकै कारण ०७९ को स्थानीय तह निर्वाचनमा पार्टीको पहिलो रोजाईमा उनी परे। उनलाई पार्टीले वडाध्यक्षको उम्मेदवार बनायो । नेपाली कांग्रेसका उम्मेदवारलाई ८९६ मतान्तरले पराजित गरे ।
०७४ मा एमाले सोही वडामा ९० मतान्तरले पराजित भएको थियो। ०७४ मा एमालेको मत ९५५ थियो। ५ वर्षमा पोखरेलले एमालेको पक्षमा दोब्बर मत बढाए। सवै सँग मिल्ने र सवैको कुरा सुन्ने, विकास निर्माणको क्षेत्रमा अग्रसरता लिने र पाएको जिम्मेवारीलाई कुशलतापुर्वक निर्वाह गर्ने उनको शैलीका कारण उनी विराटनगर १९ वटा वडाध्यक्षहरु मध्येमा उनी अगाडी छन्। वडामा नयाँ–नयाँ कार्यक्रम ल्याउने, सामाजिक विकास र भौतिक विकासको कामलाई महत्वदिने, नगरस्तरिय कार्यक्रमहरुलाई आर्थिक वर्षको अगावै सम्पन्न गर्ने उनको शैलीको अहिले अन्य वडाध्यक्षहरुले पनि अनुशरण गर्न थालेका छन् ।
भौतिक पूर्वाधारको क्षेत्रमा जो आए पनि काम नरोकिने उनले बताए। तीनवटै सरकारको सहकार्यमा आफ्नो वडामा २ वर्षमा ५ किलो मिटरभन्दा कालोपत्रे गरिएको उनले बताए। यसवर्ष ३ किलो मिटरभन्दा बढी कालोपत्रे गर्ने उनको भनाइ छ । नाला बनाउने काम पनि भइरहेका उनले बताए ।
डुबानलाई कम गर्न नालालाई प्राथमिकता दिएको पोखरेलले बताए। प्रत्येक महिनाको पहिलो सोमबार विराट आँखा अस्पतालको सहकार्यमा निःशुल्क आँखा चेकजाँच र उपलब्ध हुने औषधि दिइने गरेको उनले बताए। सुत्केरी भेट कार्यक्रम, जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण कार्यक्रम पनि नियमित रहेको उनले बताए। वडाध्यक्ष पोखरेलले आफुले पाउने सुविधाबाट एक अपाङ्गता भएकी महिलालाई रोजगारी दिएका छन् ।
सेवाग्राहीका निवेदन लगायतका कुराहरुमा सहजीकरणका लागि आफ्नै सुविधाबाट पारिश्रमिकत दिएर रोजगारी दिएको उनले बताए। वडा भित्रका रातो कार्ड बाहेकका अपाङ्गता भएका २८ परिवारको निशुल्क स्वास्थ्य बीमा गरिदिएको पोखरेलले बताए। विराटनगर ८ मा ४ वटा सामुदायिक विद्यालयसमेत छन्। यी विद्यालयमा विद्यार्थीहरूका लागि योग शिविरसमेत वडाले नै गराउने गरेको उनले जानकारी दिए ।
विद्यालयमा खेल सामग्री, मन्टेश्वरी शिक्षाका लागि आवस्यक सहयोग पनि वडाले गरेको उनले बताए। वडाका हरेक क्षेत्रलाई समेट्ने गरिका कार्यक्रम सञ्चालनमा रहेको उनले बताए। वडाध्यक्ष भएको १ हजार दिन पुगेको छ। हजार दिनमा वडाले उल्लेखनीय प्रगति गरेको पोखरेलले बताए ।
स्थानीय सरकार भनेको दुःख पर्दाको घर आँगनको सरकार भएकाले जनतालाई हरेक क्षणमा साथ दिनुपर्ने मान्यता उनको छ। उनले भने, ‘सोही अनुशारको काम म गर्दै आएको छु।’ पोखरेल जिम्मेवारी लिन हत्तपत्त अग्रसर हुँदैनन् तर पाएको जिम्मेवारीलाई कुशलतापुर्वक निर्वाह गर्दै आएका छन् ।
पोखरेलले विराटनगरमा जारी विराटनगर महानगर कमिटीको उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन्। आज मतदान हुँदैछ । महानगर कमिटीको प्रवक्ताको जिम्मेवारी सम्हालिसकेका पोखरेलले महानगरको उपाध्यक्षमा निर्वाचित भए पार्टी संगठनलाई गतिशिल बनाउने बताउँछन् ।