२३ आषाढ २०८२, सोमबार

जम्मू–कश्मीर घटनापछि भारत र पाकिस्तानबीचको सम्बन्ध थप बिग्रियो

Logo
आजको अपडेट बिहिबार, बैशाख ११, २०८२

दुई छिमेकी देश भारत र पाकिस्तानबीचको सम्बन्ध थप बिग्रिएको छ । विगतदेखि नै राम्रो सम्बन्ध नभएका यी दुई देशबीच जम्मू–कश्मीरमा भएको आक्रमणपछि सम्बन्ध थप चिसिएको हो । पाकिस्तानले ‘सीमा–पार आतङ्कवाद’ लाई समर्थन गरिरहेको भारतको आरोप छ ।

अस्ति मङगलवार जम्मू–कश्मीरको पहलगाममा पर्यटकमाथि भएको आक्रमणमा भारतले पाकिस्तानलाई गम्भीर आरोप लगाउँदै कडा प्रतिक्रिया जनाएको छ । साथै कडा कूटनीतिक कदम सार्वजनिक गरेको छ ।

विदेश सचिव विक्रम मिस्रीले पत्रकार सम्मेलनमार्फत भारतले सन् १९६० मा गरिएको ‘इन्डस जल सम्झौता’ तत्काल स्थगित गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

सिन्धु जल सन्धिका रुपमा चिनिने यो सम्झौता सफल अन्तर्राष्ट्रिय सन्धिका रूपमा लिइन्छ । दुई देशबीच पटक–पटक युद्ध हुँदा पनि यो सन्धिमा असर पर्ने गरेको थिएन । जबसम्म पाकिस्तानले सीमा–पार आतङ्कवादप्रति समर्थन त्याग गर्दैन, तबसम्म यो सम्झौता स्थगित रहने उहाँले बताउनुभएको छ ।

इन्डस जल सम्झौताले भारत र पाकिस्तानलाई तीन–तीन वटा हिमाली नदीहरूको अधिकार प्रदान गर्दै जल उपयोग तथा सिँचाइका लागि व्यवस्था मिलाएको थियो ।

सम्झौता कार्यान्वयन गर्न इन्डस आयोग पनि स्थापना गरिएको थियो, जसले उत्पन्न समस्याहरूको समाधान गर्ने जिम्मेवारी पाएको थियो ।

साथै, भारतले पाकिस्तानसँगको मुख्य स्थल सीमा अटारी–वाघा नाका तत्काल बन्द गर्ने निर्णय गरेको छ । यद्यपि, वैध यात्रा कागजात भएका व्यक्तिहरूलाई ‘मे’एक तारिख अर्थात अबको एक हप्ता अगाडि फर्किन छुट दिइएको छ ।

यो सीमा नाका प्रतीकात्मक रूपमा निकै महत्त्वपूर्ण मानिन्छ, जहाँ हरेक बेलुका भारत–पाकिस्तानका सैनिकहरूबीच हुने परेडले दुई देशबीचको प्रतिस्पर्धालाई दर्शाउने गर्छ ।

भारतले नयाँ दिल्लीको पाकिस्तान दूतावासका रक्षा सल्लाहकार र अन्य सैन्य अधिकारीलाई एक हप्ताभित्र भारत छोड्न निर्देशन दिएको छ ।

त्यस्तै पाकिस्तानमा रहेका आफ्ना रक्षा, नौसेना र वायुसेना सल्लाहकारहरूलाई पनि भारतले फिर्ता बोलाउने भएको छ । पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले आज राष्ट्रिय सुरक्षा समितिको बैठक बोलाउनुभएको छ ।

पहलगाममा पर्यटकमाथि भएको आक्रमणमा एक नेपालीसहित कम्तीमा २६ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300