

विराटनगर । नेपाल बीमा अनुसन्धान तथा व्यवस्थापन प्रतिष्ठानद्वारा विराटनगरस्थित रुबिज इन होटलमा ‘जोखिम व्यवस्थापन र बीमा’ सम्बन्धी समसामयिक विषयहरूमा एक दिवसीय सेमिनार सम्पन्न भएको छ । सेमिनारमा जीवन बीमा, निर्जिवन बीमा, र लघु बीमा कम्पनीहरूबाट १६० जना प्रतिनिधिहरू सहभागी भएका थिए ।
सेमिनारको उद्घाटन नेपाल बीमा प्राधिकरणको कोशी प्रदेश प्रमुख विनोद पोखरेल र निर्मा अध्यक्ष डा. रविन्द्र घिमिरे तथा निप्स कोशी प्रदेश अध्यक्ष खड्ग बहादुर श्रेष्ठले संयुक्त रूपमा गरेका थिए । निर्मा अध्यक्ष डा. घिमिरेले बीमा क्षेत्रमा कार्यरत कर्मचारीहरूलाई बीमाका विषयमा थप ज्ञान दिने उद्देश्यले कार्यक्रम गरेको बताए ।
कार्यक्रममा प्रमुख अतिथिहरूले बीमा व्यवसायमा नैतिकता र नियमित तालीमको आवश्यकता औंल्याउँदै बीमा कर्मचारी र सर्वेक्षकहरूलाई अद्यावधिक ज्ञान र व्यावसायिक आचरणलाई आत्मसात गर्न जोड दिए । नेपाल पुनर्बीमा कम्पनीका सहायक प्रमुख कार्यकारी अधिकृत दामोदर भण्डारीले यस्ता तालिमहरूले व्यवसायमा गुणस्तरीय वृद्धि, नैतिक जोखिम न्यूनीकरण र कम्पनीको विश्वसनीयता सुदृढ गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।
प्राधिकरणका कोशी प्रदेश प्रमुख पोखरेलले यस्तो कारर्यक्रम कोशीमा पहिलोपटक गरिएको जानकारी दिए ।
कार्यक्रमका उद्देश्यमा बीमा सिद्धान्त, अन्डरराइटिङ, दाबी व्यवस्थापन, पुनर्बीमा र समसामयिक जोखिम व्यवस्थापन विधिबारे प्रशिक्षण प्रदान गर्नु, आधुनिक जोखिम विश्लेषण र ठगी नियन्त्रणका प्रविधिहरू सिकाउनु, र बीमा क्षेत्रमा अनुसन्धान र छलफलको वातावरण निर्माण गर्नु समावेश थियो ।
सेमिनारका सेसनहरूमा विभिन्न वक्ताले बीमा उद्योगमा रहेको समस्याहरू र समाधानका उपायहरूमा छलफल गरेका थिए ।