२१ जेठ २०८३, बिहिबार

माटोमा पसिना, हातमा प्रगति: देवानगञ्जका सन्जयको कथा

Logo
डुमरलाल मेहता सोमबार, बैशाख २९, २०८२
तस्बिर:- डुमरलाल मेहता

विराटनगर । सुनसरीको देवानगञ्ज–१ का किसान सन्जय मेहता विहानैदेखि खेतमा व्यस्त देखिन्छन्। हामीले भेट्दा उहाँ खेतमै पानी पटाउँदै हुनुहुन्थ्यो। सानैदेखि खेतीमा लागेका मेहता अहिले आठ बिगाहामा व्यवसायिक खेती गर्दै आउनुभएको छ।

उहाँले आफ्नै खेतमा २.५ बिगाहामा उखु, १५ कट्ठामा केरा, घेरा, परवल लगायतका तरकारीबाली लगाउनुभएको छ। बाँकी केही खेत तयारी अवस्थामा छन्। सिचाइको लागि पम्पसेट प्रयोग गर्नुपर्दा खर्चिलो भएको गुनासो उहाँको छ। “यहाँ पैनीको सुविधा छैन,” उहाँले भन्नुहुन्छ , “पम्पसेट प्रयोग गर्दा केही सजिलो भए पनि खर्च धेरै लाग्छ।

कक्षा ११ सम्म अध्ययन गरेका सन्जयले पढाइमा अगाडि बढ्न नसके पनि छोराछोरीको शिक्षामा कुनै सम्झौता गर्नुभएको छैन। उहाँका एक छोरा र दुई छोरी छन्। जेठो छोरा अहिले विराटनगरका क्याम्पसमा अध्ययनरत छन् भने बाँकी दुईजना छोरी जनता माध्यमिक बिद्यालयमा अध्ययनरत छन्। “आफूले राम्रोसँग पढ्न नपाए पनि छोराछोरीलाई राम्रो शिक्षा दिने लक्ष्य राखेको छु,” उहाँ भन्छन्।

मेहताको खेतीबाट वार्षिक झण्डै १० लाख रुपैयाँ आम्दानी हुने गरेको छ। पहिले परम्परागत रूपमा धान र गहुँ खेती गर्दा निकै कठिन हुने गरे पनि अहिले तरकारी र उखुजस्ता नगदे बालीबाट राम्रो आम्दानी भइरहेको उहाँको अनुभव छ।

बजारका हिसाबले उहाँलाई खास समस्या छैन। व्यापारीहरू खेतमै आएर उपज किन्ने गर्छन् भने कहिलेकाहीं उहाँ आफैं पनि स्थानीय देवानगञ्ज हटियामा उपज पुर्याउने गर्नुहुन्छ। “बजारको समस्या छैन ।

यद्यपि यति मेहनतपछि पनि स्थानीय सरकारबाट सहयोग नपाएको गुनासो उहाँको छ। “सरकारले अनुदान दिन्छ भन्छ, तर कार्यान्वयनमा केही हुँदैन। समाचारमा मात्रै देखिन्छ, व्यवहारमा हामीजस्ता किसानको पहुँचमा छैन,” उहाँ दुखेसो पोख्नुहुन्छ। उहाँलाई लाग्छ—अनुदान माथिल्लै तहमा सकिन्छ, पहुँच भएका मानिसहरू मात्र लाभान्वित हुन्छन्।

कृषिमा समर्पित सन्जय मेहता जस्ता किसानको कथा न त बडो प्रचारमा आउँछ, न त उनीहरूले त्यस्तो सम्मान पाउँछन्। तर यिनै किसानहरूको निरन्तर प्रयासले देशको कृषि प्रणाली जीवित छ। अब भने स्थानीय सरकार र सम्बन्धित निकायले यस्ता किसानप्रति गम्भीर ध्यान दिनुपर्ने समय आएको छ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300