

विराटनगर । श्री रामसीता माध्यमिक विद्यालय, बर्जु गाउँपालिका–२ मा सोमबार एक विशेष समारोहका बीच विद्यालयका जग्गादाता स्वर्गीय सीताराम राय कुर्मीको सालिक अनावरण गरिएको छ।
स्व. कुर्मीले विद्यालयलाई १८ कठ्ठा जग्गा दान गरेका थिए। उक्त जग्गाको मूल्य करोडौं रुपैयाँ बराबर रहेको जनाइएको छ। विद्यालयका लागि यति ठूलो योगदान दिएकोमा स्व. कुर्मीप्रति गहिरो सम्मान प्रकट गर्दै उनको सम्झनामा सालिक निर्माण गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि बर्जु गाउँपालिकाका अध्यक्ष जिवछ रायले स्व. कुर्मीले शिक्षाको महत्त्व बुझेर गरेको योगदान प्रशंसनीय रहेको बताए। उनले भने, “शिक्षा नै समृद्धिको आधार हो भन्ने दृष्टिकोणले स्व. कुर्मीले विद्यालयका लागि जग्गा दान गर्नु भएको हो, जसले यहाँका बालबालिकालाई उज्यालो भविष्यको बाटो देखाएको छ।”
कार्यक्रममा संस्थापक सदस्य राम प्रसाद तिवारी, पूर्व गाउँपालिका अध्यक्ष रघुनन्दन चौधरी, वडा नम्बर २ का अध्यक्ष महेन्द्र कामत, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद यादव तथा विद्यालयका प्रधानाध्यापक सूर्य नारायण मेहतालगायतले स्व. कुर्मीको योगदानप्रति श्रद्धाञ्जली अर्पण गर्दै विद्यालयको शैक्षिक स्तर उकास्न निरन्तर प्रयास गरिने प्रतिबद्धता व्यक्त गरे।
हाल विद्यालयमा कक्षा १२ सम्म अध्ययन हुँदै आएको छ। वक्ताहरूले आगामी दिनमा विद्यालयलाई स्नातक तहसम्म विस्तार गर्न आवश्यक पहल गरिने धारणा व्यक्त गरे।
कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक तथा सयौं स्थानीयको उल्लेख्य उपस्थिति रहेको थियो।