०९ जेठ २०८२, बिहिबार

कोशी प्रदेशमा धान खेतीका लागि पर्याप्त रासायनिक मल, अभाव नहुने कम्पनीको दाबी

Logo
सन्तोष मेहता मंगलबार, जेठ ०७, २०८२

विराटनगर,  जेठ ७ – कोशी प्रदेशमा यो वर्षको धान खेती सिजनका लागि आवश्यक पर्ने रासायनिक मल पर्याप्त मात्रामा मौज्दातमा रहेको कृषि सामग्री कम्पनी लिमिटेड, प्रादेशिक कार्यालय विराटनगरले जनाएको छ । युरिया, डिएपी र पोटास मलको राम्रो व्यवस्था हुनुका साथै थप मल आपूर्ति प्रक्रिया पनि अगाडि बढेकोले अभावको अवस्था नआउने कम्पनीको दाबी छ ।

प्रादेशिक प्रमुख नरेशकुमार साफकोटाका अनुसार हाल प्रदेशभर करिब ५५० मेट्रिक टन युरिया मौज्दातमा रहेको छ भने थप ८,००५ मेट्रिक टन युरिया बाटोमा छ। डिएपी मल ४,४९० मेट्रिक टन मौज्दातमा छ भने ७,००० मेट्रिक टन भित्रिँदैछ । त्यस्तै, पोटास मल १,८९९ मेट्रिक टन मौज्दातमा रहेको छ ।

धान खेतीका लागि ३० हजार मेट्रिक टन मल आवश्यक

प्रादेशिक कार्यालयको अनुमान अनुसार कोशी प्रदेशमा धान खेतीको लागि करिब ३० हजार मेट्रिक टन मल आवश्यक पर्छ। अहिले मौज्दात र आपूर्तिमा रहेका मलले किसानको आवश्यकता सहजै पूरा गर्न सकिने कम्पनीको दाबी छ ।

मल वितरण आइतबारदेखि सुरु हुँदै

विराटनगर कार्यालयले पहाडी जिल्लामा पहिले नै मल पठाइसकेको र अब तराईका जिल्लाहरू—सुनसरी, मोरङ लगायतमा आइतबारदेखि मल वितरण सुरु हुने जनाएको छ । मल वितरणका लागि प्रदेश मल व्यवस्थापन समितिले तोकेको कोटा अनुसार स्थानीय तहबाट सिफारिस प्राप्त भएपछि वितरण हुने व्यवस्था छ ।

१७० सहकारीमार्फत वितरण

इलाम, बिर्तामोड, इटहरी, धनकुटा, गाईघाट, विराटनगर, लाहान र राजविराजका क्षेत्रीय कार्यालयमार्फत कम्पनीले १७० सहकारी संस्थामार्फत मल वितरण गरिरहेको छ । साथै, कृषि चुन पनि मौज्दातमा रहेको र माग अनुसार उपलब्ध गराइने जानकारी दिइएको छ ।

‘यसपटक मलको अभाव हुदैन’

प्रमुख साफकोटाका अनुसार अघिल्ला वर्षहरूमा मल अभावका कारण किसानले उत्पादनमा समस्या भोगेका थिए । तर यसपालि समयमै मल आपूर्ति हुने भएकाले यस्तो अवस्था नदोहरिने उनी बताउँछन् । “सरकारले खाद्यान्न उत्पादनमा जोड दिएको छ । त्यसअनुसार मल व्यवस्थापनमा कुनै ढिलाइ हुने छैन,” उनले भने ।

सीमावर्ती क्षेत्रका किसानहरूले विगतमा भारतबाट मल ल्याउने प्रयास गर्दा सुरक्षाकर्मीको कडाइले समस्या भोग्नुपरेको गुनासो आइरहे पनि, कम्पनीले यसपटक स्वदेशमै पर्याप्त मल आपूर्ति हुने विश्वस्त पार्दै आएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300