

सुनसरी — सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका–३ स्थित कालिन्द्र सामुदायिक बन क्षेत्रमा प्रहरी र शंकास्पद व्यक्तिहरूबीच झडप हुँदा एक जना घाइते भएका छन् । शनिबार बेलुका करिब ८ बजेको समयमा प्रहरीले नियन्त्रणमा लिन खोज्दा स्थिति तनावपूर्ण बनेको हो ।
प्रहरीका अनुसार, शंकास्पद बोरा बोकेर हिँडिरहेका व्यक्तिहरूलाई रोकेपछि उनीहरू भाग्न थालेका थिए । भाग्ने क्रममा एक व्यक्तिले खुकुरी निकालेर प्रहरीमाथि आक्रमण गर्न खोजेपछि आत्मरक्षाका लागि प्रहरीले तीन राउन्ड गोली चलाएको जनाइएको छ ।
गोली लागेर घाइते भएका व्यक्ति बराहक्षेत्र–३ का ५५ वर्षीय रामप्रसाद लिम्बू हुन् । उनको दाहिने तिघ्रामा गोली लागेको छ र हाल धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
सुनसरी प्रहरी प्रमुख सुमन तिम्सिनाका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ । बाँकी व्यक्ति भने बोरा छाडेर भागेका थिए । प्रारम्भिक अनुमान अनुसार ती बोरामा लागुऔषध (गाँजा) रहेको हुनसक्ने प्रहरीको भनाइ छ ।