

विराटनगर, जेठ २६ – सुनसरीस्थित कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले ड्युटीमा खटिएका ट्राफिक प्रहरीलाई गालीगलौज गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरी प्रशासनले तीन छुट्टाछुट्टै कानुनी बिन्दुमा अनुसन्धान सुरु गरेको छ ।
भाइरल भएको भिडियोमा अध्यक्ष अन्सारीले कोशी कटान क्षेत्रमा कार्यरत सई कमलप्रसाद दाहाल र असई सन्तोष मिश्रमाथि अभद्र भाषा प्रयोग गर्दै गालीगलौज गरेको देखिन्छ । उक्त घटना सार्वजनिक भएपछि कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी ईश्वर कार्कीले सुनसरी प्रहरीलाई तत्काल अनुसन्धान सुरु गर्न निर्देशन दिएका छन् ।
तीन छुट्टाछुट्टै मुद्दा दर्ता गर्ने तयारी
सुनसरीका प्रहरी प्रमुख एसपी सुमन कुमार तिम्सिनाका अनुसार, अध्यक्ष अन्सारीविरुद्ध तीन मुख्य बुँदामा अनुसन्धान अघि बढाइएको छ ।
१. सार्वजनिक स्थानमा अभद्र व्यवहार प्रदर्शन
२. राष्ट्रसेवक कर्मचारीलाई कर्तव्य निर्वाहमा अवरोध
३. आपराधिक उपद्रव अन्तर्गत ब्यारिकेट फाल्न खोजेको प्रयास
एसपी तिम्सिनाले भने, “घटना गम्भीर प्रकृतिको भएकाले हामी कानुनी दायराभित्र रहेर आवश्यक प्रक्रिया अघि बढाइरहेका छौं । हरेक मुद्दाको हदम्याद तीन महिना हुने भएकाले समयसीमा भित्रै अनुसन्धान टुंग्याउने लक्ष्य लिएका छौं ।”
प्रदेश प्रहरी प्रमुख कार्कीले भने, “एक स्थानीय तहको अध्यक्षबाटै सुरक्षाकर्मीमाथि यसरी दुर्व्यवहार हुनु निन्दनीय हो। दोषी प्रमाणित भएमा कानुन बमोजिम कडा कारबाही हुन्छ ।”