

विराटनगर । स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत तेस्रो खेलमा घरेलु टोली स्कटल्याण्डले नेपाललाई ९८ रनको चुनौती दिएको छ । नेपाली बलरको कडा प्रदर्शनका कारण स्कटल्याण्डले १०० रन नजोड्दै सम्पूर्ण विकेट गुमाएको हो ।
नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक चार विकेट लिए । उनले क्रिस्टोफर म्याकब्रिज, म्याथ्यू क्रस, सफायान शरीफ र ज्याक जार्भिसलाई आउट गराएका थिए ।
दीपेन्द्रसिंह ऐरी र करण केसीले समान दुई–दुई विकेट लिएका थिए भने ललित नारायण राजवंशीले एक विकेट हात पार्न सफल भए। ऐरीले मार्क वाट र मिचेल लिस्कलाई पेभेलियन फर्काएका थिए ।
पारीको सुरुआतमा करण केसीले जर्ज मुन्सीलाई आउट गराए भने अर्को ओभरमा लियाम नायलर रनआउट भए। त्यसपछि केसीले फिन्ले क्याक्कार्थलाई दुई रनमै आउट गरे ।
ललितले ब्राण्डन म्याकमुलनलाई १० रनमा क्याचआउट गराए ।
यस खेलमा नेपालले टस जितेर पहिले बलिङ रोजेको थियो। सोमबार नेदरल्याण्ड्ससँग हार बेहोरेको नेपाल सिरिजमा पहिलो जितको खोजीमा छ भने स्कटल्याण्ड लगातार दोस्रो जित निकाल्ने प्रयासमा रहेको छ ।