

विराटनगर । सुनसरीको दुहबी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि कुल ९३ करोड ६५ लाख ५६ हजार ८ सय रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
नगरप्रमुख वेदनारायण गच्छदारको अध्यक्षतामा बिहीबार देखि सुरु भएको दुहबी नगरपालिकाको १७औं नगरसभाको पहिलो बैठकमा उपप्रमुख मेनुका खतीवडाले नीति तथा कार्यक्रमसहितको बजेट प्रस्तुत गरेकी हुन्।
नगर प्रवक्ता विजय चौधरीका अनुसार उक्त बजेटमध्ये करिब २१ करोड रुपैयाँ दायित्व रहँदै आएको छ। गत वर्षको तुलनामा यो बजेट करिब ११ करोड रुपैयाँले कम रहेको हो।
नगर सभाको प्रारम्भिक बैठकमा एकमुष्ट बजेट प्रस्तुत गरिएको छ भने, आगामी दुई दिनभित्र नगरसभामा विषयगत छलफल गरी शीर्षकगत रुपमा छुट्याएर सर्वसम्मत पारित गरिने जानकारी दिइएको छ।
नगरसभाको अवसरमा दुहबी नगरपालिकाले उत्कृष्ट कार्यसम्पादन गर्ने चार जना कर्मचारी र एक उद्योगलाई सम्मानसमेत गरेको छ।
सम्मानित कर्मचारीहरूमा उचित नारायण साह, हेमनारायण माझी, रोहित कुमार पराजुली र कुमारी सुन्दास रहेका छन्। उनीहरूलाई नगद १५/१५ हजार रुपैयाँ, सम्मानपत्र तथा दोसल्लासहित सम्मान गरिएको हो।
त्यसैगरी, दुहबी–२ मा रहेको मैनावति स्टिल प्रा.लि.का मेनेजर गोकुल सुवेदीलाई समेत उद्योग क्षेत्रको योगदानका लागि सम्मान गरिएको छ।
नगरपालिकाका अनुसार आगामी वर्षका लागि प्रस्तुत बजेटले पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, वातावरणीय संरक्षण तथा उद्यम प्रवर्द्धनमा विशेष प्राथमिकता दिने बताइएको छ।