२३ आषाढ २०८२, सोमबार

कान्तिपुर माविकी आयुषा कार्की टप, विद्यालयद्वारा नगदसहित सम्मान

Logo
डुमरलाल मेहता शनिबार, आषाढ १४, २०८२

विराटनगर। गुणस्तरीय शिक्षाको प्रतिक बनेको विराटनगरको कान्तिपुर माविले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उल्लेखनीय सफलता हासिल गरेको छ। विद्यालयका ६० जना विद्यार्थी सहभागी परीक्षामा सबै जना उत्तीर्ण भएका छन् भने एक जना विद्यार्थीले पूर्ण ४.० जिपिए हासिल गरेकी छन्।

विद्यालयकी टप छात्रा आयुषा कार्कीले ४.० जिपिए ल्याउँदै कान्तिपुर स्कुलको शैक्षिक छवि अझ उजागर गरेकी हुन्। उनको यस उपलब्धिका लागि विद्यालयले विशेष सम्मानस्वरूप नगद २५ हजार रुपैयाँसहित कदरपत्र प्रदान गरेको छ। उक्त पुरस्कार विद्यालयका प्रिन्सिपल भुवन नेपालले आयोजित समारोहमा हस्तान्तरण गरे।

विद्यालयले सार्वजनिक गरेको नतिजा विवरण अनुसार, परीक्षामा सहभागी ६० विद्यार्थीहरूमध्ये ११ जनाले ३.६१ देखि ४.० जिपिए, ४१ जनाले ३.२१ देखि ३.६० जिपिए तथा ७ जनाले २.९५ देखि ३.२० जिपिए प्राप्त गरेका छन्। विद्यालयको समग्र नतिजा यसै आधारमा प्रशंसनीय देखिएको छ।

सम्मान समारोहमा बोल्दै टप छात्रा आयुषा कार्कीले आफ्नो सफलताको श्रेय मेहनती शिक्षक, नियमित कक्षा सञ्चालन र सकारात्मक पठन वातावरणलाई दिइन्। उनले भनिन्, “कान्तिपुर स्कुलको शिक्षणस्तर उच्च भएकोले मैले यो सफलता हात पार्न सकेकी हुँ। म आगामी अध्ययनका लागि पनि यही कलेज रोज्ने निर्णयमा पुगेकी छु।”

उनले अब कक्षा ११ मा विज्ञान संकाय लिएर कान्तिपुर कलेजमै अध्ययन गर्ने बताइन्। कलेजप्रति विश्वास व्यक्त गर्दै उनले भनिन्, “यहाँका अनुभवी शिक्षक र समर्पित वातावरणले मेरो भविष्य निर्माणमा सहयोग पुग्नेछ। म अन्य विद्यार्थीहरूलाई पनि यहीँ अध्ययन गर्न प्रेरित गर्न चाहन्छु।”

कार्यक्रममा कलेजका प्रिन्सिपल भुवन नेपालले आयुषासहित सम्पूर्ण विद्यार्थीहरूलाई बधाई दिंदै भने, “कान्तिपुर विद्यालय सधैं विद्यार्थीको समग्र विकासमा केन्द्रित रहँदै आएको छ। शिक्षकहरूको परिश्रम, विद्यार्थीको लगनशीलता र अभिभावकहरूको विश्वास नै हाम्रा सफलताका आधार हुन्।”

प्रिन्सिपल नेपालले आयुषालाई कक्षा ११ र १२ दुबै वर्षका लागि पूर्ण छात्रवृत्ति दिने घोषणा गरे। साथै, उनले विज्ञान र व्यवस्थापन संकायमा विद्यालयले उच्च गुणस्तरको शिक्षा प्रदान गर्दै आएको जानकारी दिँदै विज्ञान संकायमा अब विशेष तयारी कक्षा पनि सञ्चालन गरिने बताए।

कान्तिपुर विद्यालयले शैक्षिक उपलब्धिका साथसाथै अतिरिक्त क्रियाकलाप, क्यारियर काउन्सेलिङ, प्रतियोगी परीक्षा तयारी तथा व्यावसायिक विकास कार्यक्रममार्फत विद्यार्थीको समग्र क्षमताविकासमा समेत ध्यान दिँदै आएको छ।

यस वर्षको एसईई नतिजाले फेरि एकपटक कान्तिपुर विद्यालयको शैक्षिक स्तर प्रमाणित गरेको छ। स्थानीयस्तरमा मात्र नभई अन्य क्षेत्रका विद्यार्थी र अभिभावकमाझ समेत लोकप्रिय रहेको यस विद्यालयले आगामी दिनमा अझ उत्कृष्ट शिक्षा प्रदान गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300