

विराटनगर — भोजपुरको रामप्रसादराई गाउँपालिका–२, धोद्लेखानीस्थित बोन्थिताङमा एकै परिवारका चार सदस्य मृत अवस्थामा फेला परेका छन्। घटनामा ज्वाइँ संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
प्रहरीका अनुसार भोजपुर नगरपालिका–२, हेलौछाका राजेन्द्र राईले ससुरा, सासु, श्रीमती र सालोको ज्यान लिएका हुन्। घटनापछि उनले आफैँ प्रहरीलाई फोन गरी जानकारी गराएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।
घटनाको जानकारी पाएपछि ओख्रेस्थित अस्थायी प्रहरी चौकीबाट खटिएको टोलीले घटनास्थलमा ६८ वर्षीय वेलबहादुर गिरी, ४८ वर्षीया मञ्जु गिरी, राजेन्द्रकी श्रीमती र उनकी भाइको शव फेला पारेको हो।
राजेन्द्र र उनकी श्रीमतीले केही समयअघि भागी विवाह गरेका थिए र उनी पछिल्लो चार दिनदेखि ससुरालीमै बस्दै आएका थिए। घटनापछि उनी पनि घाइते अवस्थामा फेला परेका छन्। उनको भोजपुर सदरमुकाममा उपचार भइरहेको प्रहरीको भनाइ छ।
घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।