विराटनगर । कोशी प्रदेशमा आज दिउँसोदेखि भारीदेखि अत्यधिक वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वी नेपालतर्फ सरेका कारण कोशी प्रदेशमा पश्चिमको तुलनामा बढी वर्षा हुने प्रक्षेपण गरिएको हो ।
विभागको बुलेटिनअनुसार प्रदेशका थोरै स्थानमा धेरै भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ भने तराई क्षेत्रका केही भागहरूमा हावाहुरीसमेत चल्न सक्नेछ । मौसमविद् बिनु महर्जनका अनुसार कोशी र मधेश प्रदेशका विभिन्न स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम तथा एक-दुई स्थानमा भारी वर्षा हुनसक्ने अवस्था छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार सम्भावित भारी वर्षाका कारण भूक्षय, बाढी, पहिरो र गेग्रान बहावको जोखिम रहेको छ। शहरी तथा तराई क्षेत्रहरूमा डुबानको खतरा रहन सक्ने भएकाले स्थानीयवासी, कृषक, निर्माण कार्यमा संलग्न पक्ष र यात्रुहरूलाई विशेष सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
वर्षाका कारण नदी, खोलानालामा पानीको सतह बढ्न सक्ने भएकाले नदी क्षेत्र आसपासका बासिन्दालाई सचेत रहन तथा पूर्वतयारीमा जुट्न सुझाव दिइएको छ । साथै, जलवायुजन्य असरले जनजीवन, कृषि, यातायात, स्वास्थ्य र पर्यटन क्षेत्र प्रभावित हुनसक्ने भएकाले जोखिम न्यूनीकरणमा स्थानीय तह र सम्बन्धित निकायको सक्रियता आवश्यक रहेको विभागले जनाएको छ ।
