विराटनगर । नेपालले बङ्गलादेशमा भइरहेको साफ यू-२० महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा दोस्रोपटक श्रीलङ्कामाथि शानदार जित हात पारेको छ ।
ढाकास्थित बसुन्धरा स्पोर्ट्स मैदानमा आज भएको खेलमा नेपालले श्रीलङ्कालाई ७–० ले हराउँदै अंक तालिकाको शिखरमा स्थान बनाएको हो ।
नेपालका लागि समीक्षा मगर र कुसुम खतिवडाले दुई–दुई गोल गर्दा, पूर्णिमा राई, सरिता कुमारी नाथ र बिर्सना चौधरीले एक–एक गोल गरे। पहिलो हाफमा नेपालले ४ गोल गरेको थियो भने दोस्रो हाफमा थप ३ गोल गर्दै फराकिलो जित दर्ता गर्यो ।
यसअघिको भेटमा पनि नेपालले श्रीलङ्कालाई ७–० कै नतिजाले पराजित गरेको थियो। प्रतियोगितामा नेपालले भूटानलाई ६–१ ले हराएको थियो भने बङ्गलादेशसँग ३–२ को हार व्यहोरेको थियो ।
चार खेलमा ९ अंक जोडेको नेपाल गोल अन्तरका आधारमा तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। समान ९ अंक रहेको बङ्गलादेश दोस्रो स्थानमा छ ।
प्रतियोगिताको अर्को खेलमा आज बेलुकी पौने ७ बजे भूटान र बङ्गलादेश भिड्दैछन् । सहभागी चार टोलीले एकअर्कासँग दुई–दुई पटक प्रतिस्पर्धा गर्ने प्रारूप रहेको प्रतियोगितामा अन्तिममा सर्वाधिक अंक जोड्ने टोली विजेता बन्नेछ ।
