विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई कुनै पनि हालतमा पार्टी सदस्य बन्न रोक्नुपर्ने कारण नरहेको स्पष्ट गर्नुभएको छ ।
आज काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा उहाँले नेकपा एमालेको केन्द्रीय कमिटीले गरेको निर्णयलाई अपरिपक्व भन्दै असन्तुष्टि जनाउनुभयो ।
पूर्वराष्ट्रपति भण्डारीले राष्ट्रपतिको जिम्मेवारी सकिएपछि देशको सामाजिक, आर्थिक तथा राजनीतिक अवस्था र अन्तर्राष्ट्रिय परिवेशबारे अध्ययन, मनन र चिन्तन गर्दै आएको उल्लेख गर्दै अब पार्टीको संरचना भित्र बसेर देश र जनताको सेवा गर्ने चाहना रहेको बताउनुभयो ।
उहाँले आफू राजनीति फर्किएको कुरालाई अनौठो नमान्न आग्रह गर्दै राष्ट्रपतिपछि पनि कुनै व्यक्ति सक्रिय रुपमा मुलुकका पक्षमा योगदान दिन सक्ने विचार राख्नुभयो ।
एमालेले केही दिनअघि सम्पन्न केन्द्रीय कमिटी बैठकबाट पूर्वराष्ट्रपतिलाई पुनः सक्रिय राजनीतिमा फर्किन नदिने निर्णय गर्दै राष्ट्राध्यक्ष भइसकेको व्यक्ति पार्टी कार्यकर्ता वा नेता बन्नु उपयुक्त नहुने ठहर गरेको थियो ।
गएको असार १४ गते भण्डारीले आफू पुनः पार्टी राजनीतिमा सक्रिय भएको घोषणा गर्नुभएको थियो ।
