विराटनगर, साउन १२ – कृष्णजन्माष्टमीको भोलिपल्ट हरेक वर्ष झैं यस वर्ष पनि विराटनगरमा राधाकृष्ण रथयात्रा भव्य रूपमा निकालिने भएको छ । रथयात्रा समितिका अनुसार, तयारीहरू अहिले अन्तिम चरणमा पुगेका छन् ।
रथयात्रा भदौ १ गते आइतबार दिउँसो ३ बजे विराटनगर–१ स्थित पानीट्याङ्कीको राधाकृष्ण मन्दिरबाट सुरु हुने र नौ किलोमिटर लामो नगर परिक्रमा गर्दै फेरि मन्दिरमै पुगेर समापन हुनेछ । यस वर्षको रथयात्रा ९४ औं संस्करण हो, जुन वि.सं. १९८८ सालदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको हो ।
समितिका अध्यक्ष कैलाश रेग्मीका अनुसार, रथ २१ फिट ३ इन्च उचाइ, १४ फिट चौडाइ, १९ फिट लम्बाइ र जुवा आठ फिटको हुनेछ । यसपटक रथयात्रामा नेपालका विभिन्न प्रदेशहरूसँगै भारतको सीमावर्ती क्षेत्रबाट समेत झन्डै पाँच लाख भक्तजनको सहभागीता रहने अनुमान गरिएको छ ।
रथयात्रा नगरका ४४ स्थानमा विश्राम गर्दै अघि बढ्नेछ। यस आयोजनालाई व्यवस्थित बनाउन १,१०० सदस्यीय समारोह समिति र १६ वटा उपसमिति गठन गरिएको छ ।
कार्यक्रमको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्नु हुने तय भएको छ । आयोजकहरूको भनाइमा, भारतको उडिसाको प्रसिद्ध जगन्नाथपुरी पछिको यो एसियाकै ठूलो रथयात्रा हो ।
विराटनगरवासी मात्रै होइन, देश–विदेशबाट आउने भक्तजनले यस ऐतिहासिक यात्रालाई अझ विशेष बनाउनेमा आयोजक आशावादी छन् ।
