अष्ट्रिया / ‘स्वास्थ्य र अनुशासनका लागि खेलकुद’ भन्ने मूल नाराका साथ नेपाल युरोपियन स्पोर्ट क्लब (एनईएससी) को आयोजनामा आउँदो भदौ ७ गते (अगस्ट २४, २०२५) आइतबारका दिन अस्ट्रियाको पर्यटकीय सहर इन्स्ब्रुकमा भलिबल प्रतियोगिता हुने भएको छ ।
युरोपभरि रहेका नेपाली समुदायबीच आपसी भाइचारा, भेटघाट र सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले यो प्रतियोगिता विगतदेखि नै आयोजना हुँदै आएको थियो । यस वर्ष तेस्रो संस्करणको रुपमा हुने प्रतियोगितामा युरोपका विभिन्न देशबाट नेपाली भलिबल क्लबहरूको सहभागिता रहनेछ । समाजसेवीसमेत रहेका आयोजक एनईएससीका उपाध्यक्ष ख्याम विश्वकर्माका अनुसार प्रतियोगिता बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म चल्नेछ ।

एनईएससीका उपाध्यक्ष ख्याम विश्वकर्मा
प्रतियोगितामा जर्मनीको नेपाल भलिबल क्लब ह्याम्बर्ग, स्विट्जरल्यान्डको हिमालयन स्पोट्र्स टिम, फिनल्याण्डको हिमालयन स्पोट्र्स क्लब, नामोबुद्ध स्पोर्ट क्लब र साल्जबर्गको नेपाल कल्चर स्पोर्ट क्लब, नेपाल युरोपियन स्पोर्ट क्लब (एनईएससी)ले सहभागिता जनाउने निश्चित भएको उपाध्यक्ष विश्वकर्माले जानकारी दिए । प्रतियोगिताका विजेता टिमले ४ लाख ५ हजार रुपैयाँ, ट्रफी मेडल र प्रमाणपत्र, उपविजेता टिमले २ लाख ५ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै तेस्रो हुने टिमलाई कप र बल प्रदान गरिनेछ ।
