विराटनगर, १८ साउन । विराटनगरस्थित एभरेष्ट बोर्डिङ स्कुलले विद्यार्थीलाई व्यवहारिक र अन्तर्राष्ट्रिय स्तरको कूटनीतिक ज्ञान प्रदान गर्ने उद्देश्यले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभाहरुको अभ्यास गराउने भएको छ ।
विद्यालयका प्रधानाध्यापक टिकाराम पुरीका अनुसार, विद्यार्थीलाई नगरसभा, प्रदेशसभा, प्रतिनिधिसभा, राष्ट्रियसभा, ब्रिटिश संसद, अष्ट्रेलियन संसददेखि संयुक्त राष्ट्रसंघ महासभासम्मको संरचना, कार्यप्रणाली र कार्यविधिबारे अनुभवात्मक सिकाइ दिने उद्देश्यले अभ्यास कार्यक्रम सुरु गर्न लागिएको हो ।

यसै सन्दर्भमा ‘प्रथम एभरेष्ट नमूना संयुक्त राष्ट्रसंघको अभ्यास’ कार्यक्रम साउन २१ देखि २३ गतेसम्म एभरेष्ट कलेजको परिसरमा सञ्चालन गरिने भएको छ। कार्यक्रममा सहभागिता जनाउने विद्यार्थीले विभिन्न अन्तर्राष्ट्रिय मञ्चका विषयमा गहन छलफल गर्दै, समाधानमुखी प्रस्ताव तयार गर्नेछन् ।
छलफलका प्रमुख एजेन्डा यसप्रकार छन् :
-
संयुक्त राष्ट्रसंघ महासभा : निशस्त्रीकरण तथा अन्तर्राष्ट्रिय सुरक्षा
-
मानव अधिकार परिषद् : कब्जा गरिएका क्षेत्रहरूमा मानव अधिकार उल्लङ्घन
-
विश्व स्वास्थ्य संगठन (WHO) : कोभिड–१९ पछि विद्यालय र समुदायमा मानसिक स्वास्थ्य सुदृढीकरण
-
संयुक्त राष्ट्रसंघ वातावरण कार्यक्रम (UNEP) : दिगो कृषि मार्फत जलवायु लचिलोपन
-
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (SAARC) : विपद् तयारी र क्षेत्रीय सहयोग
-
अन्तर्राष्ट्रिय प्रेस समिति : पत्रकारिता कभरेज, समाचार संकलन र विश्लेषण
कार्यक्रमको संयोजन इशल भट्टराईको नेतृत्वमा गरिएको छ भने, ग्लोबल हेल्प फाउन्डेसनको सहकार्यमा कार्यक्रम सञ्चालन हुनेछ । संयोजक भट्टराईले कार्यक्रममा ३३ जना विभिन्न देशका प्रतिनिधिको सांकेतिक भूमिकामा सहभागी रहने जानकारी दिएका छन् ।
कार्यक्रममार्फत विद्यार्थीको नेतृत्व क्षमता, कूटनीतिक समझदारी, अन्तर्राष्ट्रिय नीति र समालोचनात्मक चिन्तन विकास गराउने लक्ष्य लिइएको छ । अन्तिम दिन आयोजित पत्रकार सम्मेलनमार्फत कार्यक्रमको निष्कर्ष सार्वजनिक गरिनेछ ।
