सुनसरी, साउन १९ । लगातारको वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव उच्च बनेको छ । आइतबार साँझ कोसी ब्यारेजमा मापन गरिएको पानीको बहाव प्रतिसेकेन्ड १ लाख ९१ हजार २१० क्युसेक पुगेको थियो ।
आज बिहानको मापन अनुसार ब्यारेज भएर प्रतिसेकेन्ड १ लाख ७५ हजार ६८५ क्युसेक पानी बगिरहेको छ । सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाका अनुसार, हाल ब्यारेजका ५६ ढोकामध्ये २३ वटा खोलिएको छ ।
१ लाख ५० हजार क्युसेक प्रतिसेकेन्डभन्दा बढी बहाव भएपछि खतराको संकेतस्वरूप ब्यारेज क्षेत्रमा रातो बत्ती बालिएको ब्यारेज कन्ट्रोल रुमले जानकारी दिएको छ ।
यसअघि २०६५ सालको भदौ २ गते, १ लाख ६८ हजार क्युसेक पानीको बहाव हुँदा पूर्वी तटबन्ध भत्किएर ठूलो क्षति पुगेको स्मरणीय छ । अहिले पनि सतर्कता अपनाउन स्थानीयवासीलाई आग्रह गरिएको छ ।
