विराटनगर । यस वर्षका चाडपर्व सुरु भइसकेका छन् । हरितालिका तीज सम्पन्न भएसँगै अब बजारमा दशैँको चहलपहल सुरु भएको छ ।
यसपालि बडादशैँ असोज ६ गते घटस्थापनाबाट सुरु हुनेछ । सोह्रश्राद्ध भदौ २३ गतेदेखि सुरु हुने छ। हिन्दु परम्परा अनुसार पितृ पक्ष सकिएपछि दशैँ सुरु भएको मानिन्छ ।
दशैँको फूलपाती असोज १३ गते, महाअष्टमी असोज १४ गते, महानवमी असोज १५ गते र विजया दशमी असोज १६ गते परेको छ । कतिपय ठाउँमा दशैँ असोज २० गते जोगाग्रत पूर्णिमासम्म मनाइने चलन छ । सरकारी बिदा भने फूलपातीदेखि द्वादशी अर्थात् असोज १३ गतेदेखि १८ गतेसम्म रहनेछ ।
दशैँ नजिकिँदै जाँदा सहरबजारमा किनमेलको चहलपहल बढ्न थालेको छ । यससँगै गाउँ फर्किने यात्रुको संख्या पनि बढ्ने अनुमान गरिएको छ । पढाइ र रोजगारीका लागि सहर पसेकाहरू दशैँमा खुशीसहित गाउँ फर्कने तयारीमा छन् ।
