रौतहट । रौतहटको चर्चित सुटकेस हत्या प्रकरणमा संलग्न भएको आरोप लागेका लक्ष्मण पासवानको मृत्यु भएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुलदीप चन्दका अनुसार जलेको अवस्थामा फेला परेका पासवानलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको थियो। तर उपचारको क्रममा बुधबार उनको मृत्यु भएको हो।
प्रहरीका अनुसार पासवान रौतहटको माधवनारायण नगरपालिका–६ माधोपुर नजिकै बगैंचा हुँदै बिसुनपुरवा–मानपुर जाने बाटोमा जलेर घाइते अवस्थामा सोमबार फेला परेका थिए। बिहान करिब साढे ६ बजे उनले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेको अवस्थामा स्थानीयले देखेका थिए।
गत शनिबार गौर बजार जाने भनेर डेराबाट निस्किएकी २६ वर्षीया रुबी साहको शव सुटकेसभित्र कोचिएको अवस्थामा भेटिएपछि घटनाले देशभरै चासो पाएको थियो।
