विराटनगर । संचारसम्बन्धी विधेयकमा राखिएका पत्रकारविरोधी प्रावधान सच्याउन माग गर्दै कोशी प्रदेशमा पत्रकारहरूले विराटनगरमा विरोध प्रदर्शन गरेका छन्।
नेपाल पत्रकार महासंघ कोशी प्रदेशको अगुवाइमा शुक्रबार बिहान मुख्यमन्त्री कार्यालय अगाडि पत्रकारहरूले प्रदर्शन गरेका थिए। त्यसपछि उनीहरूले रोडशेष चोकमा धर्ना दिँदै प्रेस स्वतन्त्रतामाथि आघात गर्ने प्रावधान खारेज गर्न प्रदेश सरकारलाई दबाब दिएका हुन्।
महासंघ कोशी अध्यक्ष भरत खड्काले उक्त विधेयक प्रेस स्वतन्त्रताको मर्मविपरीत रहेको भन्दै सच्याएर मात्र संसद पारित गर्नुपर्ने माग गरे। उनले यसअघि नै पत्रकार महासंघले विधेयक संशोधनका लागि सुझाव दिएका तर सरकारले ती सुझावलाई उपेक्षा गर्दै विधेयक अघि बढाएको आरोप लगाए।

नेपाल पत्रकार महासंघले संचार विधेयकको विरोधमा चरणबद्ध आन्दोलन जारी राख्ने चेतावनी दिएको छ। यसअघि बुधबार पत्रकार महासंघले प्रदेशसभा सदस्यहरूलाई संशोधनको मागसहित एसएमएस समेत पठाएको थियो।
