विराटनगर । नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिको आह्वानमा शुक्रबार देशभरका ७५३ स्थानीय तहमा एकैपटक आयोजना गरिएको दुई घण्टे धर्ना तथा ध्यानाकर्षण कार्यक्रम अन्तर्गत सुनसरीको बर्जु गाउँपालिकामा समेत धर्नामा बसेको हो ।
बर्जु गाउँपालिकामा उक्त धर्ना कार्यक्रममा विभिन्न शिक्षक संगठनका अगुवाहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा नेपाल शिक्षक महासङ्घ बर्जु कार्यसमितिले नेतृत्व गरेको हो।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेपाल शिक्षक महासङ्घ बर्जु अध्यक्ष विजय कुमार चौधरी, नेपाल शिक्षक सङ्घ बर्जु अध्यक्ष विनोद गुरुङ, नेपाल राष्ट्रिय शिक्षण संगठन अध्यक्ष युवराज श्रेष्ठ, संघीय शिक्षक फोरम नेपाल अध्यक्ष रामानन्द मेहता, विद्यालय कर्मचारी परिषद् बर्जु अध्यक्ष बाबुराम राय, बाल विकास शिक्षक कार्यसमिति अध्यक्ष सावित्री कर्ण र प्रधानाध्यापक संघ संयोजक पुनितलाल चौधरी लगायतका वक्ताहरूले शिक्षकका हकहित, पेशागत मर्यादा, सेवा–सुरक्षा र शिक्षाको गुणस्तरबारे आ–आफ्ना धारणा राखेका थिए।
धर्नामा बर्जु गाउँपालिकाभित्रका २७ सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूको उल्लेख्य सहभागिता थियो। सहभागीहरूले नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिले राखेका मागहरूलाई समर्थन गर्दै शीघ्र कार्यान्वयन गर्न सम्बन्धित निकायलाई आग्रह गरे।
ध्यानाकर्षण पत्र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रविन्द्र महतलाई बुझाइएको थियो। उनले उक्त ज्ञापनपत्र सम्बन्धित निकायमा पठाइने आश्वासन दिएका छन्।
माग र आन्दोलनको पृष्ठभूमि
शिक्षक संगठनहरूले हालै सरकारले ल्याउन खोजेको शिक्षा ऐनका प्रावधान, शिक्षकको सेवा–सुविधा, स्थायीकरण प्रक्रिया, सम्मानजनक तलब–सुविधा, बढुवा र पेशागत हकहित सुनिश्चित गर्नुपर्ने लगायतका माग राख्दै देशव्यापी दबाब कार्यक्रम सञ्चालन गरिरहेका छन्।
नेपाल शिक्षक महासङ्घका अनुसार माग पूरा नभएसम्म चरणबद्ध आन्दोलनका कार्यक्रम निरन्तर अघि बढाइने जनाइएको छ।
