विराटनगर । उद्योग, कृषि तथा सहकारी मन्त्रालय कोशी प्रदेशका सचिव डा. शरण पाण्डे अहिले विवादमा परेका छन् । उनी जहाँ सरुवा भएर जान्छन्, त्यहाँ केही न केही विवाद हुने गरेको देखिन्छ । वाग्मती र मधेश प्रदेशमा रहँदा पनि उनी यसैगरी विवादमा परेका थिए । कुनै पनि मन्त्रालयमा उनको एक वर्षे कार्यकाल पुरा भएको छैन ।
गत वर्षको कार्तिक महिनामा सरुवा भएर यस मन्त्रालय आएका उनी मन्त्रीको निर्देशन पालना नगर्ने, सहयोग नगर्ने र कर्मचारीबीच गुटबन्दी चलाउने प्रवृत्तिका कारण मन्त्रालयका नियमित कामकाज प्रभावित भएका छन् ।
सचिवले राजनीतिक आवरणमा सरुवा बदर गर्ने जस्ता कदम चालेर मन्त्रीसँग टकराव खेजेपछि उनले प्रयोग गर्दै आएको गाडीको चावी खोसिएको हो । कानूनी अधिकारको नाममा व्यक्तिगत स्वार्थ लुकाउने प्रवृत्ति देखिएको भन्दै मन्त्रालयका नजिक स्रोतहरूले असन्तुष्टि जनाएका छन् ।
कृषि मन्त्रालयका सचिवले देखाएको यस्तो हठीपन केवल मन्त्रीसँगको व्यक्तिगत टकरावमा सीमित छैन । एक कर्मचारीले भने, “यसले संस्थागत र नीतिगत काम नै रोकिदिएको छ । किसानले पाउने सुविधा, बजेट खर्च र नयाँ कार्यान्वयन जस्ता महत्वपूर्ण काम सचिवकै कारण अवरुद्ध भएको छ ।”
स्रोतका अनुसार मन्त्रीलाई असफल बनाउन प्रदेशकै गौरवको आयोजना ‘खोरेत रोग मुक्त गर्ने अभियान’ समेत सचिवले अवरोध गर्न खोजेका थिए । तर मन्त्री खगेनसिं हाङमागको सक्रियतामा पछि सफल भएको थियो । त्यस्तै, किसानलाई व्याज अनुदान कार्यक्रम पनि सचिवकै कारण लक्ष्यअनुसार प्रगति गर्न सकेन ।
यही कारणले मन्त्री र सचिवबीचको विवाद सतहमा पुगेपछि उनको यही साउन २६ गते मन्त्रीस्तरीय निर्णय अनुसार कृषि तथा पशुपंक्षी मन्त्रालयमा सरुवा गरिएको हो । सरुवा भएको पत्र साउन २८ गते मन्त्रालयमा आएको थियो ।
तर उनले रमाना नलिई २० दिनसम्म अटेरी गरेर बसेका थिए । स्रोतका अनुसार उनले फेरि शक्तिकेन्द्रको आडमा यही भदौ १३ गते मन्त्रीस्तरीय निर्णय अनुसार सरुवा बदर गराएका छन् । सरुवा पत्रमा भनिएको छ– तत्कालै कामकाज गर्ने गरी मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा रहनु ।
स्रोतका अनुसार, सचिव र मन्त्रीको विवाद सतहसम्म पुग्दा “किन उनी मन्त्रालयमै बस्न चाहन्छन् ?” भन्ने प्रश्न अहिले कर्मचारीबीच चर्चाको विषय बनेको छ ।
यही विवादबीच सोमबार सचिव डा. पाण्डेले प्रयोग गर्दै आएको गाडी मन्त्रीले थुतेका छन् । मुख्यमन्त्री कार्यालयमा सरुवा भएका सचिव कृषि मन्त्रालयको गाडी किन चढिरहेका छन् ? भन्ने प्रश्न उठेपछि उनको गाडीको चावी खोसिएको स्रोतको भनाइ छ ।
उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङमागले सचिव डा. पाण्डेलाई आफूले कुनै पनि हालतमा स्वीकार नगर्ने प्रतिक्रिया दिएका छन् । उनले भने, “एक पटक सरुवा भएको कर्मचारी फेरि सरुवा बदर गरेर आउँछ भने, म त्यस्तो सचिवसँग बसेर काम गर्न सक्दिन ।”
