विराटनगर । आज विराटनगरसहित देशभर विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाइँदैछ । प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन विधिपूर्वक विश्वकर्माको पूजा गर्ने परम्परा अनुसार आज विभिन्न स्थानमा विशेष कार्यक्रमसहित पूजा सम्पन्न भइरहेको हो ।
विभिन्न कलकारखानामा मजदुर तथा उद्योगी–व्यवसायीहरूले विश्वकर्मा भगवानको मूर्ति वा तस्बिर स्थापना गरी पूजा आराधना गरेका छन् । यस अवसरमा कलकारखानालाई विशेष रुपमा सजाउने र मजदुरलाई सहभागी गराएर सामूहिक रुपमा दिवस मनाउने परम्परा रहेको छ ।
आजका दिन कालिगडले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ ।
द्वापरयुगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रूपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् ।
