२१ जेठ २०८३, बिहिबार

छठ पर्वको दोस्रो दिन आज खरना विधि गरिँदै

Logo
आजको अपडेट आइतबार, कार्तिक १०, २०८२

महोत्तरी । आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठअन्तर्गत आज (आइतबार) दोस्रो दिन खरना विधि गरिँदैछ । जीवनपद्धतिलाई प्रतिविम्बन गर्ने छठको खरनालाई पापको क्षय हुने दिन भनिन्छ ।

खरना अन्तर्गत गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी बर्तालु दिनभर उपवास बस्ने गर्छन् । बेलुकीपख चन्द्र दर्शन गरिसकेपछि माटाको नयाँ चुल्हामा र माटाकै नयाँ भाँडामा सखर, दूध र गम्हरी चामल (मङ्सिरमा पाक्ने स्थानीय जातको धानको चामल)को खीर पकाइन्छ । राति त्यहि खिर कूल देवता र छठी देवीलाई चढाइ ब्रतालुले खाने गर्छन् ।

कतिपय परिवारमा खीरका साथै रोटी पनि पकाइन्छ । खरनामा नैवेद्य चढाइने बेलामा जति अर्घ्य दान गरिने हो, त्यति स्थानमा केराको पातमाथि नैवेद्य चढाउने गरिन्छ । यसरी चढाइने नैवेद्यमा खीर, दूध, केरा, मुला, पान र सुपारी आदि राखिन्छ । नैवेद्यलाई केराको पातमा राखेर छठीमातालाई चढाइन्छ । नैवेद्यलाई उत्सर्ग गरिसकेपछि ब्रतालु र परिवारजनले प्रसाद ग्रहण गर्ने चलन छ ।

श्रद्धा, निष्ठा, समर्पणभाव र आत्मशुद्धिलाई निकै ख्याल गरिने छठ पर्वको ‘खरना’ पछि ब्रतालुहरू अझ गम्भीर भई पर्वको तेस्रो दिनको तयारीमा लाग्ने गर्छन् ।

पर्वको तेस्रो दिन भोलि अर्थात् कात्तिक शुक्ल षष्ठी तिथिमा सूर्य उपासनाको निराहार व्रत बसेर साँझपख ब्रतालुले जलाशयमा बनेको मनोरम घाटमा पुगेर कम्मरसम्म डुब्ने पानीमा चोबलिएर अस्ताउँदा सूर्यलाई पहिलो अर्घ्य दिइने छ । यसलाई मिथिलामा ‘सझुका अरख’ वा ‘सझियाघाट’ भन्ने गरिएको छ ।

त्यसैगरी, सप्तमीका दिन बिहान ब्रतालुले उदाउँदा सूर्यलाई दोस्रो अर्घ्य दिएर पर्व समापन गर्ने मैथिल चलन छ । उदाउँदो सूर्यलाई दिइने अर्घ्यलाई मिथिलामा ‘भोरका अरख’ वा ‘पारन’ भनिन्छ । अर्घ्य दिँदा पहिले जटासहितको नरिवल र त्यसपछि क्रमशः पर्वका लागि पकाइएका मिष्टान्न परिकार र केरासहितका फलफूल सूर्यदेवलाई देखाउने चलन छ ।

केही वर्ष पहिलेसम्म मधेशी मूलका हिन्दुले मात्र मनाउँदै आएका यो पर्व अब पर्वते मूलका हिन्दु पनि बाक्लै मनाउन थालेका छन् । मिथिलामा इस्लाम धर्मावलम्बीले समेत ब्रतालुलाई अर्घ्यका बेला आफ्नो भाकल सूर्यदेवलाई देखाइदिन दिने गरेका छन् । यसले छठ पर्वलाई साझा बनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300