२१ जेठ २०८३, बिहिबार

`धम्की र श्रम शोषण बन्द गर’ भन्दै नोबेल अस्पतालका स्वास्थ्यकर्मी आन्दोलनमा

Logo
डुमरलाल मेहता बुधबार, कार्तिक २०, २०८२

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका स्वास्थ्यकर्मीहरूले पुनः आन्दोलन थालेका छन्। सरकारले तोकेको न्यूनतम पारिश्रमिक लागू गर्नुपर्ने माग राख्दै उनीहरूले बुधबार बिहानदेखि अस्पताल परिसरमा नाराबाजीसहित विरोध प्रदर्शन गरेका हुन्।

‘धम्की र श्रम शोषण बन्द गर’, ‘न्यायपूर्ण पारिश्रमिक देऊ’ जस्ता नारासहित स्वास्थ्यकर्मीहरूले अस्पताल प्रशासनविरुद्ध प्रदर्शन गरेका हुन्।

आन्दोलनको नेतृत्व गरिरहेकी स्वास्थ्यकर्मी स्वाती देवका अनुसार, माग पूरा गर्न अस्पताललाई कार्तिक १८ गतेसम्मको अल्टिमेटम दिइएको थियो। तर सो समयसीमा बितिसक्दा पनि प्रशासनले मागप्रति कुनै चासो नदेखाएपछि उनीहरू पुनः सडकमा उत्रिन बाध्य भएका हुन्।

देवले भनिन्, “हाम्रा मागहरूप्रति प्रशासनले कुनै सुनुवाइ गरेन। त्यसैले हामी फेरि आन्दोलनमा होमिएका छौँ। अहिले आकस्मिक र आइसियू बाहेकका सबै सेवामा कार्यरत स्वास्थ्यकर्मी आन्दोलनमा छन्। माग पूरा नभएसम्म आन्दोलन जारी रहनेछ।”

स्वास्थ्यकर्मीहरूले अस्पतालले उनीहरूलाई मासिक १२ हजार १७० रुपैयाँ मात्र आधारभूत तलब दिइरहेको बताएका छन्, जबकि सरकारले तोकेको न्यूनतम पारिश्रमिक ३४ हजार ७३० रुपैयाँ रहेको छ।

आन्दोलनरत पक्षले सरकारले तोकेको दरअनुसार तलब पाउनुपर्ने, कामको सुरक्षासहित सम्मानजनक व्यवहार सुनिश्चित गर्नुपर्ने र अस्पताल प्रशासनबाट हुने धम्की तथा दवाबपूर्ण वातावरण अन्त्य गर्नुपर्ने माग गरेका छन्।

नेपालभरका धेरै निजी अस्पतालमा कार्यरत नर्स र स्वास्थ्यकर्मीहरू लामो समयदेखि कम तलब, अतिरिक्त समयको उचित भुक्तानी नपाउने, र श्रम शोषणका समस्याबाट पीडित रहेका छन्। नोबेल अस्पतालका स्वास्थ्यकर्मीहरूको यो आन्दोलन पनि सोही असमान व्यवहारविरुद्धको निरन्तरता हो।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300