२१ जेठ २०८३, बिहिबार

एक थोपा रगत नबग्ने गरी निर्वाचन गराउन प्रयासरत छु : प्रधानमन्त्री कार्की

Logo
आजको अपडेट शुक्रबार, कार्तिक २२, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले एक थोपा रगत नबग्ने र एक जना पनि घाइते नहुने गरी निर्वाचन गराउन आफू प्रयासरत रहेको बताएकी छन्। बिहीबार द एसिएन नेटवर्क फर फ्री इलेक्सन्स (आन्फ्रेल)को प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री कार्कीले शान्तिपूर्ण र भयरहित वातावरणमा स्वच्छ र निष्पक्ष चुनाव गराउन सरकार प्रतिवद्ध रहेको स्पष्ट पारिन्।

आन्फ्रेल थाइल्यान्डको ब्यांककमा सचिवालय रहेको अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूको सञ्जाल हो। सचिवालयका कार्यकारी निर्देशक ब्रिजा रोसालेसको नेतृत्वको टोली अहिले नेपालको निर्वाचन वातावरणको मूल्यांकन गर्न काठमाडौं आइपुगेको छ।

लामो समय न्यायाधीश र प्रधानन्यायाधीशका रूपमा काम गरेको व्यक्तिको नेतृत्वको सरकार भएकाले यसले स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउने भन्नेमा आफूहरू विश्वस्त रहेको प्रतिनिधिमण्डलका सदस्यहरूले बताए। “तपाईँको लामो समयदेखिको न्यायिक अनुभवले स्वतन्त्र र निष्पक्ष निर्वाचनमार्फत राजनीतिक पुनःसंरचना सम्भव हुने देखेका छौं र त्यसले लोकतान्त्रिक संस्थाहरूलाई जोगाउनेछ,” प्रतिनिधिमण्डलको भनाइ थियो।

प्रधानमन्त्री कार्कीले पनि अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले चासो देखाएपछि निर्वाचन सुरु भइसकेको अनुभूति गराएको प्रतिक्रिया दिइन्। उनले भनिन्, “हाम्रो मुख्य उद्देश्य नै चुनाव गराउनु हो। यसैमा केन्द्रित छौं। स्वस्थ निर्वाचनको वातावरण बनाउन नागरिक समाज र पर्यवेक्षकको पनि भूमिका रहन्छ। यहाँहरूको उपस्थितिले निर्वाचन सुरु भइसकेको अनुभूति गराएको छ।”

आन्फ्रेल प्रतिनिधिहरूसँगै नेपालको निर्वाचन पर्यवेक्षकहरूको सञ्जाल नियोगका पदाधिकारी तथा सदस्य पनि थिए। उनीहरूले यसपाली पहिलोपल्ट मतदान गर्ने युवा मतदातामा व्यापक उत्साह देखिएकाले मतदाता शिक्षामा विशेष जोड दिन सुझाव पनि दिए। सरकारले आगामी फागुन २१ गते तोकिएको निर्वाचन सम्पन्न गराउन तयारी तीव्र पारेको छ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300