विराटनगर । विराटनगरका प्रतिष्ठित कलाकार तथा पत्रकारहरूको अभिनय रहेको नयाँ मैथिली गीतको छायांकन सम्पन्न भएको छ।
‘जाईछे त जो हमर, जान लेने जो’ बोलको उक्त गीत विराटनगर र आसपासका विभिन्न स्थानमा छायांकन गरिएको हो। पत्रकार नवीन कर्णको शब्दरचना रहेको यस गीतमा पत्रकार वीरेन्द्र साहले प्रमुख भूमिका निर्वाह गरेका छन् भने उनलाई चर्चित कलाकार विजय कामत र काजल कर्णले साथ दिएका छन्।
गीतमा संगीतकार धर्मेन्द्र शर्माको संगीत रहेको छ भने मधेश प्रदेशका सुप्रसिद्ध गायक राकेश पासमानले स्वर दिएका छन्। केही दिनअघि विराटनगरसँगै कटहरी गाउँपालिका, महेशपुरको ग्रामीण परिवेशमा यस गीतको छायांकन गरिएको थियो।
गीतको म्यूजिक भिडियो कार्तिक राजवंशीले निर्देशन गरेका हुन्। छायांकन धिरेन्द्र साहले, श्रृंगार अशोक मण्डलले र ड्रोन छायांकन फिरोज आलमले गरेका छन्।
निर्मात्री विनिता कर्णका अनुसार, पछिल्ला वर्षहरूमा मैथिली म्यूजिक भिडियोहरूमा द्विअर्थी र अश्लील शब्दहरूको प्रयोग बढ्दै गएको अवस्थामा, भाषाको मौलिकता जोगाउने उद्देश्यले यो गीत निर्माण गरिएको हो।
बिरह रसमा आधारित यो गीत **‘मैथिली अनलाइन’**को युट्युब च्यानलमार्फत चाँडै सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ।
यसअघि, मैथिली अनलाइनले छठ पर्वको अवसरमा पहिलोपटक नेपाली भाषामा पारम्परिक धुन र लयमा आधारित छठ गीत सार्वजनिक गरेको थियो, जसलाई दर्शकले अत्यधिक रुचाएका थिए।
