विराटनगर । विराटनगरको बरगाछी चोकमा आज साँझ भएको सडक दुर्घटनामा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार भारतीय मालवाहक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा सर्लाही हरिपुर नगरपालिका घर भएकी ४५ वर्षीया रोहिला कोइराला अधिकारीको मृत्यु भएको हो।
मृतक अधिकारी श्रीमान् विमल कोइरालासँग सवार रहेकी थिइन्। श्रीमान्ले चलाइरहेको मोटरसाइकललाई ट्रकले ठक्कर दिएपछि अधिकारीको घटनास्थलमै मृत्यु भएको स्थानीयहरुले बताएका छन्।

मोटरसाइकल चालक विमल कोइराला भने सकुशल रहेका छन्। प्रहरीले मृतकको शवलाई पोस्टमार्टमका लागि विराटनगरस्थित कोशी अस्पतालमा राखेको जनाएको छ। हाल घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
