विराटनगर । सर्वोच्च अदालतको आदेशपछि विवादित मेडिकल व्यवसायी तथा ‘राजा फर्काउने’ अभियानमा सक्रिय दुर्गा प्रसाईंलाई रिहा गरिएको छ । अदालतको निर्देशअनुसार उनलाई उनका छोरा निराजन प्रसाईंले बुझेर लगेका हुन्।
प्रसाईंको पक्षबाट दायर बन्दी प्रत्यक्षीकरण सम्बन्धी रिटमा सर्वोच्चका न्यायाधीश डा. नहकुल सुवेदी र न्यायाधीश श्रीकान्त पौडेलसमेतको संयुक्त इजलासले आइतबार उनलाई तत्काल रिहा गर्न आदेश दिएको थियो।
राजसंस्थाको पुनःस्थापनाको मागसहित अनिश्चितकालीन आन्दोलन घोषणा गरेका प्रसाईंलाई ‘संगठित अराजक गतिविधि’ गरेको आरोपमा गत सोमबार राति मध्यपुरठिमीस्थित उनको घरबाट पक्राउ गरी काठमाडौं प्रहरी परिसरमा राखिएको थियो।
पक्राउ परेपछि चार दिन म्याद थप्दै उनलाई मुद्दा प्रक्रियामा ल्याउने तयारी भइरहेको बताइएको थियो। यस्तै, प्रसाईं समूहले त्यसपछि देशव्यापी आन्दोलनको घोषणा गरेको भए पनि सरकारसँग शनिबार भएको सहमतिपछि आन्दोलन स्थगित गरिएको थियो।
