विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) सम्बन्धी अनलाइन सट्टाबाजीमा संलग्न रहेको आरोपमा प्रहरीले आठ जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार पक्राउ पर्नेहरूमा आन्द्र प्रदेशको प्रकाशम जिल्ला, पामुर गाउँका राज यदुला (३१), महेश बाबु (३५), पण्डित श्रीनिवासुलु (३०), सेख सोयब (२०), नभिन मड्डेला (३०), महमद रफी सेख (३२), साइकुमार तम्मिसेट्टी (१९) र सेखचन्द बसल (२८) रहेका छन्। सबै जना काठमाडौँ महानगरपालिका–२६, सामाखुशी क्षेत्रमा बस्दै आएका थिए।
यी व्यक्तिहरू ‘बेटाकुलर लाइभ’ नामक अनलाइन प्लेटफर्ममार्फत खेलको नतिजामा पैसा लगानी गर्दै सट्टाबाजी संचालन गरेको सुराकीका आधारमा प्रहरीले बल्खु क्षेत्रबाट पक्राउ गरेको अधिकारी आचार्यले बताए।
उनीहरूले प्रयोग गरेको १५ थान मोबाइलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद उपकरणको प्राविधिक विश्लेषणपछि, मुलुकी अपराध संहिता २०७४ को दफा १२५(४) अनुसार सट्टाबाजीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि उनीहरूलाई जिल्ला प्रहरी परिसर पठाइएको कार्यालयको भनाइ छ।
