विराटनगर । हर्ड नेपालले LDSC हङकङको आर्थिक सहयोग र हनुमाननगर कंकालिनी नगरपालिकाको समन्वयमा हनुमाननगर–कंकालिनी नगरपालिका–२ र ४ का बाढी प्रभावित १५० घरधुरीलाई आपतकालिन राहत सामग्री वितरण गरेको छ। मंगलबार दलित, मुसहरलगायत विपन्न तथा उच्च जोखिममा रहेका परिवारलाई लक्षित गर्दै गरिएको उक्त कार्यक्रममा वडा नं. २ का ९३ र वडा नं. ४ का ५७ परिवार समेटिएका थिए।
राहत वितरण समारोहमा नगरप्रमुख विरेन्द्र माझी, दुवै वडाका वडाध्यक्ष तथा वडा सदस्यहरूको सक्रिय उपस्थिति रहेको थियो। हर्ड नेपालका अनुसार राहतस्वरूप प्रत्येक परिवारलाई २५ केजी चामल, २ केजी दाल, १ लिटर खाने तेल, १ केजी नुन, १ थान प्रि–फोम, १ थान तन्ना, १ थान झुल, १ थान ब्ल्याङ्केट, १ थान बाल्टिन, २ थान त्रिपाल तथा १ सेट Dignity Kit (सरसफाइ सामग्री) प्रदान गरिएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख माझीले बाढीपछिको कठिन अवस्थाका बीच नगरपालिकाले सबै प्रभावितसम्म तत्काल राहत पु¥याउन चुनौती भइरहेका बेला हर्ड नेपाल र LDSC हङकङको सहयोगले स्थानीयहरूलाई ठूलो राहत पुगेको उल्लेख गर्दै धन्यवाद व्यक्त गरे।
यस्तै हर्ड नेपालका कार्यकारी निर्देशक राकेश कुमार यादवले राहतसँगै विपद् जोखिम व्यवस्थापन, स्वास्थ्य, सरसफाइसम्बन्धी महत्वपूर्ण जानकारी र सचेतना प्रभावित समुदायमा पुर्याउन पनि यस कार्यक्रमले महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरे ।
यस राहत वितरणमार्फत १५० घरधुरीका करिब १,०५० जना नगरवासी प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।

