विराटनगर । नेपाल रेडक्रस सोसाइटी देवानगञ्ज उप–शाखाद्वारा देवानगञ्ज गाउँपालिका- १ मा रहेको विपी स्मृती भवनमा आयोजित रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रमअन्तर्गत २७ जना दाताहरूले स्वेच्छिक रूपमा रक्तदान गरी मानवसेवाको मार्मिक उदाहरण प्रस्तुत गर्नुभएको नेपाल रेडक्रस सोसाइटी देवानगञ्ज उप–शाखाका अध्यक्ष विरेन्द्र शर्माले जनाकारी गराउनुभयो ।
रक्तदाताहरूलाई ऊर्जा पुनःप्राप्ति र स्वास्थ्य सुरक्षाका लागि फलफूल, जुस तथा दूध वितरण गरिएको थियो। त्यस्तै, उहाँहरूको सामाजिक योगदानप्रति कृतज्ञता व्यक्त गर्न खदा लगाएर सम्मान समेत गरिएको थियो।
“एक थोपा रगतले कसैको जीवन बचाउन सक्छ” भन्ने सहित आयोजित उक्त कार्यक्रम स्थानीय समुदायको सक्रिय सहभागितामा सम्पन्न भएको नेपाल रेडक्रस सोसाइटी देवानगञ्ज उप–शाखाले जानकारी दिएको छ।
रक्तदान जीवनदान हो भन्ने भावनासहित आयोजित यस कार्यक्रमले समुदायमा दान र सेवाको संस्कार अझ सुदृढ हुने अपेक्षा आयोजकले व्यक्त गरेको छ।


