काठमाडौँ । युवा तथा खेलकुद मन्त्रालयले सहसचिव राम चरित्र मेहतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कार्यवाहक सदस्य–सचिवको जिम्मेवारी प्रदान गरेको छ। मन्त्रालयले मङ्गलबार मेहतालाई औपचारिक रूपमा उक्त जिम्मेवारी तोकेको हो।
यसअघि रहेका सदस्य–सचिव टंकलाल घिसिङको कार्यकाल गत मंसिर १२ गते समाप्त भएपछि परिषद्को नियमित कामकाज सञ्चालन गर्न मेहतालाई कार्यवाहकको रूपमा जिम्मेवारी दिइएको हो।
मन्त्रालयले मेहतालाई पठाएको पत्रमा उल्लेख छ, “तपाइँलाई राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा १७ को उपदफा (१२) बमोजिम अर्को व्यवस्था नभएसम्मका लागि राष्ट्रिय खेलकुद परिषद्को सदस्य–सचिवको रूपमा जिम्मेवारी तोकिएकै निकायबाट तलब भुक्तानी हुने गरी कामकाज गर्न तोकिएको व्यहोरा यस मन्त्रालयको मिति २०८२/८/१६ को मन्त्रिस्तरीय निर्णयअनुसार अनुरोध छ।”
यसैबीच मन्त्रालयले नयाँ सदस्य–सचिव नियुक्तिका लागि सिफारिस समिति गठन प्रक्रिया अघि बढाएको छ। समिति गठन यसै साता हुने बताइएपछि नयाँ सदस्य–सचिवका लागि दरखास्त आह्वान गर्ने जनाएको छ।

