२१ जेठ २०८३, बिहिबार

न्यूरो हस्पिटल विराटनगर र अमृता हस्पिटल दिल्ली सहकार्यमा उच्चस्तरीय स्वास्थ्य सेवामा नयाँ आयाम

Logo
डुमरलाल मेहता आइतबार, मंसिर २२, २०८२

विराटनगर । कोशी प्रदेशको प्रतिष्ठित स्वास्थ्य संस्था न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटल विराटनगरले भारतको हरियाणा (दिल्ली–एनसीआर) स्थित अमृता हस्पिटलसँग औपचारिक सहकार्य आरम्भ गरेको छ । न्यूरो हस्पिटल स्थापना भएको २५ वर्ष पूरा हुँदै रजत जयन्तीको अवसर पारेर सुरु गरिएको यस साझेदारीलाई (कोशी) तथा मधेश प्रदेशका सम्मानित नागरिकहरूका लागि उच्चस्तरीय स्वास्थ्य सेवा सहज र व्यवस्थित बनाउन महत्वपूर्ण माइलस्टोनका रूपमा लिइएको छ ।

यस सहकार्यपछि क्यान्सर उपचार, अंग प्रत्यारोपण, रोबोटिक सर्जरी लगायत जटिल तथा खर्चिलो सेवाहरू ‘वन–स्टप सोलुसन’ अन्तर्गत उपलब्ध हुने अस्पतालले जनाएको छ । आवश्यकता अनुसार धेरैजसो सेवा स्वदेशमै उपलब्ध गराइने तथा अत्यन्त जटिल अवस्थामा भारतमा रेफर प्रक्रियालाई अझ व्यवस्थित र छरितो बनाइने व्यवस्था रहनेछ ।

न्यूरो अस्पतालका अपरेशनल डाइरेक्टर राजेश भट्टराईका अनुसार सहकार्यले अस्पतालको सेवा दायरा विस्तार हुनुका साथै नेपाल–भारत स्वास्थ्य सहकार्यको नयाँ मोडेल स्थापित हुने विश्वास व्यक्त गरिएको छ । “बिरामीहरूलाई अपरेशनदेखि अत्याधुनिक प्रविधियुक्त उपचारसम्म सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने वातावरण निर्माण हुँदैछ,” उहाँले बताउनुभयो ।

सहकार्य प्रारम्भसँगै न्यूरोलोजी तथा पल्मोनोलोजी विषयमा ‘कन्टिन्युइङ मेडिकल एजुकेशन (सीएमई)’ कार्यक्रम गरिनुका साथै अमृता हस्पिटलका वरिष्ठ न्यूरोलोजिष्ट प्रा. डा. सञ्जय पाण्डे, विशेषज्ञ डा. सौरभ पाहुजा तथा प्रदेशभरिका ६० भन्दा बढी विशेषज्ञ चिकित्सकहरूको उपस्थिति रहेको थियो । कार्यक्रमका वक्ताहरूले आधुनिक क्लिनिकल अभ्यास, उपचार विधि तथा नवीनतम प्रविधिबारे महत्वपूर्ण कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

त्यसैगरी, शनिबार आयोजित निःशुल्क ओपीडी क्याम्पमा अमृता हस्पिटलका चिकित्सकहरूको साथमा न्यूरो हस्पिटलका वरिष्ठ न्यूरोलोजिष्ट डा. वीरेन्द्रकुमार विष्ट, डा. सुनन्द पौडेल लगायत आदरणीय चिकित्सक टोलीले बिरामीहरूको परीक्षण गर्नुभएको थियो । क्याम्पमा न्यूरोलोजिकल तथा पल्मोनोलोजिकल समस्या भएका दर्जनौँ बिरामीहरूले विशेषज्ञ परामर्श प्राप्त गर्नुभएको थियो ।

आध्यात्मिक नेतृ माता अमृतानन्दमयी (अम्मा)द्वारा स्थापित अमृता हस्पिटल २ हजार ६ सय शैय्या क्षमतासहित भारतकै सबैभन्दा ठूलो गैरसरकारी अस्पतालको रूपमा परिचित रहेको छ । मुनाफा वितरण नगर्ने सामाजिक स्वास्थ्य संस्थाको रूपमा यस संस्थाको विशेष मान्यता रहिआएको छ ।

न्यूरो अस्पतालले आगामी दिनमा संयुक्त अनुसन्धान, चिकित्सक प्रशिक्षण, जटिल बिरामी व्यवस्थापन तथा अत्याधुनिक प्रविधि भित्र्याउने कार्यलाई उच्च प्राथमिकतामा राख्ने जनाएको छ । सहकार्यबाट कोशी प्रदेश मात्र नभई सम्पूर्ण नेपालका नागरिकहरूले प्रत्यक्ष लाभ उठाउन सक्ने विश्वास न्यूरो हस्पिटलका जनसम्पर्क अधिकृत श्री भारत श्रेष्ठले व्यक्त गर्नुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300