२१ जेठ २०८३, बिहिबार

शिक्षालय र उद्योग वीच अप्रेण्टिसीप कार्यक्रमको समिक्षा कार्यक्रम सम्पन्न

Logo
डुमरलाल मेहता बुधबार, पुष ०२, २०८२

विराटनगर । अप्रेन्टिसीप केवल तालिम मात्र नभई जीवन परिवर्तन गर्ने यात्रा हो भन्ने मूल भावनाका साथ “Apprenticeship is the Future” नारालाई आत्मसात गर्दै आदर्श अप्रेन्टिसीप अलुमनाई एशोसिएसनको आयोजनामा शिक्षालय र उद्योगबीच सञ्चालन हुँदै आएको अप्रेन्टिसीप कार्यक्रमको समीक्षा तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

शनिबार आयोजित उक्त कार्यक्रममा शिक्षालय र उद्योगबीचको सहकार्य, अप्रेन्टिसीप कार्यक्रमको प्रभावकारिता तथा यसको दीर्घकालीन महत्वका विषयमा व्यापक समिक्षा र गहन छलफल गरिएको थियो। कार्यक्रममा अप्रेन्टिसीप कार्यक्रमका पूर्व प्रशिक्षार्थीहरू, हाल अध्ययनरत प्रशिक्षार्थीहरू, विभिन्न उद्योग प्रतिष्ठानका प्रतिनिधिहरू, इन्स्योर परियोजना, एन.भि.क्यू.एस. परियोजना, क्वालिटी परियोजना, सामाजिक विकास मन्त्रालयलगायत सरोकारवाला निकायहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि उद्योग संगठन मोरङका अध्यक्ष  नन्दकिशोर राठीले वर्तमान श्रम बजार र औद्योगिक परिवेशमा अप्रेन्टिसीप कार्यक्रम अत्यन्तै आवश्यक, समयसापेक्ष र प्रभावकारी भएको धारणा व्यक्त गर्नुभयो। उहाँले युवाहरूलाई कक्षा कोठामा मात्र सीमित नराखी वास्तविक औद्योगिक वातावरणसँग प्रत्यक्ष जोड्दै कार्यस्थलमै आवश्यक व्यवहारिक सीप सिकाउने, भविष्यका पेशागत चुनौतीहरू सामना गर्न सक्षम, योग्य र आत्मविश्वासी जनशक्ति उत्पादनमा अप्रेन्टिसीप कार्यक्रम महत्वपूर्ण माध्यम भएको उल्लेख गर्नुभयो।

त्यसैगरी, सिटिईभिटी कोशी प्रदेशका उपनिर्देशक दुर्गाप्रसाद ओझाले यस्ता कार्यक्रमहरूले उद्योगको आवश्यकता, सीपको माग र युवाहरूको क्षमताबीच रहेको अन्तर घटाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो। उहाँले अप्रेन्टिसीप कार्यक्रमले उद्योगलाई सम्भावित जनशक्ति पहिचान गर्न सहयोग पुर्‍याउने, युवाहरूलाई आफ्नो करियर मार्ग स्पष्ट गर्न मद्दत गर्ने तथा नीति तथा कार्यक्रम निर्माणका क्रममा उपयोगी मार्गदर्शन प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो।

इन्स्योर परियोजना कोशी प्रदेश प्रमुख विकास पन्थीले उद्योग, व्यवसाय, शैक्षिक क्षेत्र तथा अप्रेन्टिसहरूलाई एउटै मञ्चमा ल्याई आदर्श अप्रेन्टिसीप अलुमनाई एशोसिएसनले आयोजना गरेको यस प्रकारको कार्यक्रमले उद्योग, शिक्षा र सीप विकासबीचको सम्बन्धलाई व्यवहारिक रूपमा अझ सुदृढ बनाउने उल्लेखनीय योगदान पुर्‍याउने धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा उद्योग संगठन मोरङका महानिर्देशक चुडामणि भट्टराईले उद्योगमैत्री वातावरण निर्माण, उत्पादकत्व अभिवृद्धि, श्रम तथा सीप विकास र उद्योग–शिक्षा सहकार्यसम्बन्धी विषयहरू समेटेर कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।

त्यसै अवसरमा आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक सन्तोष पोखरेलले विद्यालय र उद्योगबीचको सहकार्यलाई अझ मजबुत बनाउँदै विद्यार्थीहरूलाई अध्ययनसँगै रोजगारीमुखी तथा जीवनोपयोगी सीप प्रदान गर्न अप्रेन्टिसीप कार्यक्रम प्रभावकारी माध्यम भएको बताउनुभयो। उहाँले विद्यालयले सीपयुक्त, दक्ष र अनुशासित जनशक्ति उत्पादनलाई प्राथमिकतामा राख्दै उद्योगको आवश्यकता अनुरूप पाठ्यक्रम तथा कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी गराउनुभयो।

अप्रेन्टिसीप कार्यक्रम संयोजक तथा सहायक प्रधानाध्यापक  इन्द्रबहादुर चौहानले अप्रेन्टिसीप कार्यक्रमले विद्यार्थीलाई कक्षा कोठामा आर्जन गरेको सैद्धान्तिक ज्ञान उद्योगमा व्यवहारिक रूपमा प्रयोग गर्ने अवसर प्रदान गर्ने उल्लेख गर्नुभयो। उहाँले यस कार्यक्रममार्फत विद्यार्थीमा कार्यस्थल संस्कार, जिम्मेवारीबोध, व्यावसायिक आचरण र आत्मविश्वासको विकास भई रोजगारी तथा उद्यमशीलताको सम्भावना उल्लेखनीय रूपमा बढ्ने धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा आदर्श माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक भगिरथ पोखरेल, टेक्स कार्यक्रम संयोजक पर्वत कुमार श्रेष्ठ, डिप्लोमा कम्प्युटर इन्जिनियरिङ कार्यक्रम संयोजक लालबहादुर गुरुङ, डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा आई.टी. संयोजक एवं क्यान महासंघ मोरङका सचिव अजीप चापागाईं, अप्रेन्टिसीप कार्यक्रम प्रशिक्षक प्रवेश दुलाल, अञ्जना श्रेष्ठ, इन्स्योर परियोजना कोशी प्रदेशकी कोअर्डिनेटर रेखा उप्रेती, टिभेट अधिकृत घनश्याम लिम्बु, एम.एन.ई. रत्नबहादुर , विभिन्न उद्योग प्रतिष्ठानका प्रतिनिधिहरू, इन–कम्पनी ट्रेनरहरू तथा आदर्श अप्रेन्टिसीप अलुमनाई एशोसिएसनका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

आदर्श अप्रेन्टिसीप अलुमनाई एशोसिएसनका अध्यक्ष तथा आदर्श माध्यमिक विद्यालय अन्तर्गत अप्रेन्टिसीप कार्यक्रमको प्रि–डिप्लोमा इन इन्फर्मेसन टेक्नोलोजी २०७६ समूहका प्रशिक्षार्थी विक्रम साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उहाँले अप्रेन्टिसीप कार्यक्रम वर्तमान समयको आवश्यकता भएको उल्लेख गर्दै यस कार्यक्रमले प्रशिक्षार्थीहरूको भविष्यलाई सकारात्मक, सक्षम र सीपयुक्त बनाउने विश्वास व्यक्त गर्नुभयो। साथै उहाँले स्वीस सरकार, नेपाल सरकार, इन्स्योर परियोजना, उद्योग प्रतिष्ठानहरू तथा विद्यालयप्रति हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300