विराटनगर । विराटनगरमा रहेको नोबेल मेडिकल कलेजको एक भवनबाट खस्दा एक इन्टर्न डाक्टरको ज्यान गएको छ । मृत्यु हुने व्यक्ति सप्तरीको राजविराज नगरपालिका–९ जगदरी निवासी ३४ वर्षीय अमित यादव हुन् ।
प्रहरीका अनुसार आइतबार बिहान करिब साढे छ बजे कलेजको मुख्य गेट नजिकै रहेको भवनको पाँचौँ तलाबाट यादव खसेका थिए । गम्भीर घाइते अवस्थामा फेला परेपछि उनलाई तत्कालै सोही अस्पतालको आकस्मिक कक्षमा उपचारका लागि लगिएको थियो ।
उपचारकै क्रममा बिहान ७ बजेर २५ मिनेट जाँदा उनको मृत्यु भएको नोबेल शिक्षण अस्पतालका व्यवस्थापक दिपेश राईले जानकारी दिएका छन् ।
अमित यादव नोबेल मेडिकल कलेजमै एमबीबीएस इन्टर्न डाक्टरका रूपमा कार्यरत थिए । घटनाको वास्तविक कारण पत्ता लगाउन प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ । प्रारम्भिक चरणमा विभिन्न कोणबाट घटनाबारे अध्ययन भइरहेको बताइएको छ ।
