विराटनगर । मोरङ उद्योग व्यापार संघको आयोजनामा विराटनगरमा बुधबारदेखि सुरु हुने ‘विराट ट्रेड एक्स्पो–२०२५’ का सबै तयारी पूरा भएका छन् । ११ दिनसम्म चल्ने एक्स्पोमा स्वदेशी तथा विदेशी गरी करिब २३० स्टल रहने आयोजकले जनाएको छ ।
तीन ठूला डोमभित्र कृषि, उद्योग, पर्यटन, शिक्षा, स्वास्थ्य, सूचना प्रविधि लगायतका सामग्री प्रदर्शनीमा राखिनेछन् । नेपालसँगै भारत, बंगलादेश र पाकिस्तानका उत्पादनसमेत समावेश हुनेछन् । एक्स्पो अवधिभर स्टार्टअप, महिला उद्यमशीलता, एआई, पर्यटन र कर प्रणालीजस्ता विषयमा थिमेटिक सेसन र सेमिनार पनि सञ्चालन गरिनेछ ।
मनोरञ्जनतर्फ जलपरी प्रदर्शनी, ३डी सेल्फी जोन, बाल उद्यान र ‘विराट भोइस’ गायन प्रतियोगिता आकर्षणका रूपमा रहनेछन्। साथै, स्वप्न सुमन, कुटुम्ब, रकहेड्स लगायतका कलाकारको प्रस्तुति रहनेछ ।
एक्स्पोमा करिब २ लाख दर्शक भित्र्याउने र २०–२५ करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको छ । विद्यार्थी र ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई दिउँसो १ बजेभित्र निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । एक्स्पो पुस १९ गतेसम्म चल्नेछ ।
