विराटनगर, ११ पुस । विराटनगरस्थित शहीद रंगशालामा शुक्रबार सम्पन्न विराटनगर महानगरपालिका स्तरीय १८औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ को उपाधि एभरेष्ट स्कुलले जितेको छ ।
एभरेष्ट स्कुलले ११ स्वर्ण, ९ रजत र ११ कास्य गरी कुल ३१ पदक प्राप्त गर्दै समग्र उपाधि हात पारेको हो। प्रतियोगितामा ८ स्वर्ण, ११ रजत र ७ कास्यसहित २६ पदक जित्दै आदर्श माध्यमिक विद्यालय दोस्रो स्थानमा रह्यो भने ८ स्वर्ण, ७ रजत र ७ कास्यसहित २२ पदक प्राप्त गर्दै सत्यनारायण माध्यमिक विद्यालय तेस्रो बन्यो ।
शुक्रबार सम्पन्न विभिन्न प्रतिस्पर्धामा उल्लेखनीय प्रदर्शन देखिएको थियो । छात्र ट्रिपल जम्पतर्फ जनता माविका समिर राजवंशीले स्वर्ण जित्दा सत्यनारायणका रोहन शर्मा र आदर्श माविका अमन राजवंशी क्रमशः रजत र कास्यमा सीमित भए । छात्रा ट्रिपल जम्पमा स्टार माविकी प्रिया मिश्र पहिलो बनिन् भने मिल्स माविकी तरबा खातुन र आदर्शकी मोहिनी दासले क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गरे ।
८ सय मिटर दौड छात्रतर्फ सत्यनारायणका नितेश भट्टराई विजयी हुँदा जनता नमुना माविका समिर राजवंशी र ग्यालेक्सी माविका विवश अधिकारी क्रमशः दोस्रो र तेस्रो भए । २ सय मिटर दौड छात्रतर्फ महेन्द्र माविका विराट राजवंशीले स्वर्ण जिते भने अरनिको माविका अभिषेक यादव र जनता नमुना माविका आयुष राजवंशीले रजत र कास्य पदक पाए ।
छात्रा २ सय मिटर दौडमा सरस्वती माविकी फूलकुमारी राजवंशी प्रथम भइन् । स्टार माविकी प्रिया मिश्र दोस्रो र आदर्श माविकी एन्जिला भट्टराई तेस्रो भइन् ।
भलिबलतर्फ छात्रमा पोखरिया विद्यालयका अरिबहादुर परियार र छात्रातर्फ विकेभिएमकी सलिस्मा सिंह ‘प्लेयर अफ द टुर्नामेन्ट’ घोषित भए । त्यस्तै कबड्डी छात्रतर्फ महेन्द्र माविका दिपेश राजवंशी र छात्रातर्फ सत्यनारायणकी सन्तोषी राय उत्कृष्ट खेलाडी घोषित भइन् ।
पुस ९ देखि सुरु भएको प्रतियोगितामा विराटनगर महानगरपालिकाभित्रका ६५ विद्यालयका १ हजार ५ सय २५ विद्यार्थी सहभागी थिए । प्रतियोगितामा छात्र र छात्रा दुवैतर्फ गरी १३२ पदकका लागि भलिबल, कबड्डी, तेक्वान्दो, उसु, मार्सल आर्ट तथा ट्र्याक एन्ड फिल्ड खेलहरू सञ्चालन गरिएको थियो ।
विजेता खेलाडी तथा विद्यालयलाई विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, आयोजक विद्यालयका प्रधानाध्यापक टिकाराम पुरी तथा शिक्षा महाशाखा प्रमुख रामप्रसाद ढुंगेलले ट्रफी र पुरस्कार प्रदान गरे ।
