२१ जेठ २०८३, बिहिबार

बुढीगंगा–२ मा अच्रा खड्की तालिम सम्पन्न, पाँच महिलालाई उत्पादन मेसिन हस्तान्तरण

Logo
सन्तोष मेहता मंगलबार, पुष १५, २०८२

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–२ मा वडा कार्यालय र CDO नेपालको संयुक्त आयोजनामा सञ्चालन गरिएको अच्रा खड्की बनाउने छ महिनाको तालिम सफलतापूर्वक सम्पन्न भएको छ । स्थानीय महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने उद्देश्यले आयोजना गरिएको तालिमको समापन समारोह स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाको उपस्थितिमा सम्पन्न भयो ।

समापन कार्यक्रममा वडा अध्यक्ष रेवति नारायण चौधरीको सभापतित्व रहेको थियो भने गाउँपालिका अध्यक्ष जितनारायण थापा मगर प्रमुख अतिथि र उपाध्यक्ष अमृता कुमारी गच्छदार विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए । कार्यक्रममा वडा सदस्य, स्थानीयवासी, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा तालिममा सहभागी महिलाहरूको उल्लेख्य उपस्थिति थियो ।

तालिममा पाँच जना महिलाले सहभागिता जनाएका थिए । प्रशिक्षक श्रीकुमारी चौधरीले अच्रा खड्की उत्पादनका विभिन्न चरण, धागो व्यवस्थापन, डिजाइन तथा गुणस्तर सुधारसम्बन्धी व्यवहारिक ज्ञान प्रदान गरेकी थिइन् । तालिमकै क्रममा सहभागी महिलाहरूले ८ देखि १० वटासम्म अच्रा खड्की उत्पादन गरी स्थानीय बजारमा बिक्रीसमेत गरेको जनाइएको छ ।

तालिमपछि महिलाहरूले घरमै बसेर उत्पादन निरन्तरता दिन सकून् भन्ने उद्देश्यले पाँचै जनालाई उत्पादन मेसिन हस्तान्तरण गरिएको आयोजकले जनाएको छ । मेसिन पाएपछि सहभागी महिलाहरू उत्साहित देखिएका छन् । उनीहरूले सीप सिकेर अब घरमै बसेर आम्दानी गर्न सकिने अवस्था बनेको बताएका छन् ।

समापन समारोहमा बोल्दै गाउँपालिका अध्यक्ष थापा मगरले स्थानीय महिलालाई सीप विकासमार्फत आत्मनिर्भर बनाउन सहयोग गरेकोमा CDO नेपालप्रति आभार व्यक्त गरे । उनले गाउँपालिकाले महिला सशक्तीकरणका लागि आगामी दिनमा पनि विभिन्न स्वरोजगारमूलक तालिम र कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाए ।

उपाध्यक्ष गच्छदारले महिलाहरू सीपवान र आत्मनिर्भर बन्दै गएको देख्दा खुशी लागेको बताउँदै आवश्यक परे थप तालिमका लागि प्रस्ताव ल्याउन आग्रह गरिन् । महिलाको आर्थिक सशक्तीकरणले सामाजिक परिवर्तनमा टेवा पुग्ने उनको भनाइ थियो ।

कार्यक्रम संयोजक तुलसा आचार्यले तालिमसँगै सिलाई–बुनाइ कक्षा पनि सञ्चालन गरिएको जानकारी दिँदै आगामी चरणमा बजार व्यवस्थापन, उत्पादन गुणस्तर सुधार र बिक्री प्रवर्द्धनसम्बन्धी तालिम प्रदान गरिने बताइन् । अन्त्यमा सहभागी महिलाहरूलाई प्रमाणपत्र वितरण गर्दै कार्यक्रम समापन गरिएको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300