विराटनगर । भारतको पटना शहरमा सम्पन्न साउथ एसियन बल ब्याडमिन्टन च्याम्पियनसिप २०२५ मा नेपाली विद्यालयहरूले ऐतिहासिक सफलता हात पारेका छन्। नेपाल, भारत, श्रीलंका र भुटानको सहभागितामा आयोजना गरिएको उक्त प्रतियोगितामा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो उपस्थिति मजबुत बनाएको हो।
नेपालका तर्फबाट विराटनगर–९ स्थित मदर टेरेसा मेमोरियल इङ्ग्लिस बोर्डिङ स्कुल तथा मोरङको सुन्दरहरैंचा–८ सलकपुरस्थित ब्राइट फ्युचर सेकेण्डरी स्कुलका खेलाडीहरूले संयुक्त रूपमा सहभागिता जनाएका थिए। उनीहरूले अनुशासित, आत्मविश्वासी र उच्च खेलकौशल प्रदर्शन गर्दै दर्शक र आयोजकको ध्यान आकर्षित गर्न सफल भए।
प्रतियोगितामा सहभागी नेपाली छात्र–छात्रा खेलाडीहरूले छात्र टिम इभेन्ट, छात्रा टिम इभेन्ट, छात्र डबल्स, छात्रा डबल्स तथा मिक्स्ड डबल्स विधामा दोस्रो उपविजेता (तेस्रो स्थान) हासिल गर्दै उल्लेखनीय उपलब्धि प्राप्त गरेका छन्।
अन्तर्राष्ट्रिय स्तरको कडा प्रतिस्पर्धाबीच नेपाली खेलाडीहरूले देखाएको प्रदर्शनको आयोजक, दर्शक तथा सहभागी अन्य देशका टोलीहरूले खुलेर प्रशंसा गरेका थिए।
यस ऐतिहासिक सफलताप्रति मदर टेरेसा मेमोरियल इङ्ग्लिस बोर्डिङ स्कुल र ब्राइट फ्युचर सेकेण्डरी स्कुल परिवारले सम्पूर्ण खेलाडी तथा प्रशिक्षकहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्। आगामी दिनमा अझ उत्कृष्ट उपलब्धि हासिल हुने विश्वास समेत विद्यालय परिवारले व्यक्त गरेको छ।

